काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर लामाद्वारा सोमबार जारी विज्ञप्तिमा इजरायल र इरानबिच द्वन्द्व चर्कँदै जाँदा इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ (स्थानीय समय अनुसार सोमबार राती) मिसाइल प्रहार गरेको खबर आएको उल्लेख गरेका छन् ।
“कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ । सम्बन्धित देशका सरकारहरू, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ,“ विज्ञप्तिमा भनिएको छ ।
“भारत सरकारको समेत सहयोग लिएर इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सकुशल उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरिरहेको पहलको हामी प्रशंसा गर्दछौँ । ती मुलुकहरूमा रहेका संघका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई सक्रियतापूर्वक स्थानीय नेपाली समुदायलाई सही सूचना तथा जानकारी सहित सक्दो सहयोग गर्न अनुरोध गर्दछौँ । एनआरएनए आइसिसीले पनि २४ सै घण्टा बदलिँदो परिस्थितिको अनुगमन गरिरहेको र नेपाल सरकार, सम्बन्धित दूतावासहरू तथा एनसीसीहरुसँग निरन्तर सम्पर्कमा रही हर सम्भव सेवा पुराउन तत्पर रहेको जानकारी गराउँदछौ,“ विज्ञप्तिमा भनिएको छ ।
यसैबीच इजरायल तथा इरानबिच युद्ध विराम भएको भन्ने समाचारहरू आएका छन्, तर यस सम्बन्धी थप विवरण आउन बाँकी छन् । “हामी सबै पक्षलाई संयुक्त राष्ट्र संघका मूलभूत मान्यताहरूको पालना गर्दै कूटनीतिक माध्यमबाट छलफल र वार्ताद्वारा दिगो शान्तिका लागि पहल गर्न अपिल गर्दछौँ,“ एनआरएनए आइसिसीका प्रवक्ता गंगाधर गौतमले भने ।