शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

उर्लाबारीमा मातृत्व जोगाउने अभियानको शुभारम्भ

एक हजार भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण गराउने उदेश्य

बुधबार, असार ४ २०८२

काठमाडौं । कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजना साथै विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका भित्रका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले मातृत्व जोगाउने अभियान अन्तर्गत क्याम्पियन सी–क्याप अभियान सुरुवात भएको छ ।

असार १ गते उर्लाबारी ९ महाराजथानस्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र परिसरमा शुभारम्भ समारोह आयोजना गरिएको थियो भने उक्त समारोहमा मिस नेपाल २००५ सुगारिका केसीको उपस्थिति रहेको थियो । शुभारम्भ समारोहको अध्यक्षता नगर उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल रहेका थिए । शिविर संचालनको पहिलो दिन वडा नम्बर ९ मा एक सय ५६ जना र दोस्रो दिन ८८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले जनकारी गराउनु भयो साथै ९ दिन चल्ने शिविरमा एक हजार भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गराउने उदेश्य छ ।

कार्यक्रममा बोल्दै मिस नेपाल २००५ सुगारिका केसीले महिलाको स्वास्थ्य समस्या बारे महिला मात्र होइन परिवार समाज र राज्य स्वयं सजह हुनु पर्ने जिकिर गरिन । त्यस्तै प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित जाँच गराउन आग्रह गरे । क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख खरेलले नगरवासीको सहजताका लागि प्रत्येक वडामा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडाध्यक्षहरु कार्यपालिका सदस्य, वडा सदस्यहरु साथै स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना खतिवडा पौडेल नेपाली महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन पहिलो संस्करणकी २७ प्रेरणादायी महिला जनप्रतिनिधि मध्ये एक हुन ।