विराटनगर जेठ, १३– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बम आतंक राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कुरा अध्यक्ष दाहालले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भन्ने सोंच्नु गलत भएको बताए ।
फेरि पनि हिंसाका घटना भइरहेकोबारे पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने ठान्नु सही नभएको प्रष्ट पारे ।
अध्यक्ष दाहालले सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने दावी गरे । उनले भने, ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्तत वार्तामा आउनुको विकल्प छैन ।’ शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको प्रचण्डको भनाइ छ ।
अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै दाहालले यतिबेला सबै मिलेर विकास निर्माण र समृद्धितिर समाजवादको नयाँ ढंगले तयारी गर्नतिर लाग्नुपर्नेमा जोड दिए।
‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ’ दाहालले भने।
वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो समस्या नभएको भन्दै दाहालले वार्ताको पहल भइरहेको संकेत पनि गरे।