काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि सुरू भएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई सम्मान गरिएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा एनप्याब्सनले विद्यालय स्तरको खेलकुद प्रवर्धनमा पु¥याएको महत्वपूर्ण योगदानस्वरूप प्रशंसा पत्र प्रदान गरिएको हो । उक्त सम्मान संस्था अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणाले ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा राखेपका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐतिहासिक कांस्य पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । टर्च दौडमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सातै प्रदेशका ४७६ खेलाडी सहभागी छन्। एथलेटिक्स, रग्बी, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन र क्रिकेट गरी ६ खेल समावेश गरिएका छन्। २५ स्वर्ण, २५ रजत र ३३ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा भइरहेको छ ।