बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानमन्त्री ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीलाई सोधे प्रश्न, एआइले दियो व्यावहारिक उत्तर

बिहिबार, जेष्ठ २२ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ ।

बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा हिजो आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सो प्रश्न राखेका थिए। कार्यक्रममा उनले ‘कनेक्ट किसानको कृषि सल्लाह प्रणालीबारे चासो राख्दै यसको उपयोगिता परीक्षण गरेका हुन् । “कफिका फलहरू सफा गरेर चिसो र हावा चल्ने ठाउँमा पातलो तहमा राख्नुपर्छ। ती फलहरू नियमित रूपमा पल्टाउँदै राम्ररी सुकाउनुपर्छ। यसरी गर्दा कफि राम्ररी सुक्ने र गुणस्तर राम्रो हुने गर्छ,”प्रधानमन्त्रीको सोधाइमा कनेक्ट किसानको एआइले उत्तर दिंदै भनेको थियो ।

यस सन्दर्भमा ‘कनेक्ट किसान’ ले विकास गरेको एआइ सल्लाह प्रणालीले कृषकहरूलाई आवाज तथा पाठ दुवै माध्यमबाट कृषि सम्बन्धी आवश्यक सुझाव दिने कनेक्ट किसानका निर्देशक राजन दाहालले बताए । उनका अनुसार प्रणालीमार्फत कृषकहरूले ह्वाट्सएपमा 9705919010 नम्बरमा आफ्नो समस्या पठाउँदा एआइले नेपाली भाषामा उत्तर दिन्छ । यो प्रणाली विशेषतः ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच नभएका कृषकहरूलाई कृषि प्रविधिमा पहुँच गराउने उद्देश्यले ल्याइएको हो ।

यो सल्लाह प्रणाली ‘कनेक्ट किसान’ ले नेपाली एआई अनुसन्धानमा आधारित कम्पनी ‘दियो एआई’को सहयोगमा विकास गरेको हो । ‘कनेक्ट किसान’का निर्देशक दाहालका अनुसार यो एआइ प्रणालीले बाली संरक्षण, मल प्रयोग, सिँचाइ, रोग नियन्त्रणदेखि लिएर बजार मूल्य सम्बन्धी सुझावहरू समेत दिन सक्छ। आवाज र पाठ दुबै प्रकारमा जानकारी आदानप्रदान गर्न सकिने भएकाले यो प्रणाली सरल र प्रभावकारी हुने उनको दाबी छ ।

‘कनेक्ट किसान’ को यो प्रविधिमा एआइ प्रणालीले कृषकहरूको स्थानीय सन्दर्भअनुसार सुझाव दिने गरी तालिम प्राप्त गरिएको छ। यसमा कृषकहरूका सामान्य प्रश्नहरूका साथै विशेष परिस्थितिमा चाहिने सल्लाहहरू पनि समेटिएको बताइएको छ । कनेक्ट किसान एप हालसम्म ५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको कम्पनीले जनाएको छ ।