बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेठ १३ गते विप्लव नेकपाले नेपाल बन्द गर्ने

बिहिबार, जेष्ठ ९ २०७६

काठमाडौं जेठ, ९–
 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।  पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले  बुधबार एक विज्ञप्ति जारी गर्दै युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा नेपाल बन्दको आह्वान गरेको बताएका हुन् । विप्लवले  विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

  मंगलबार सांगठनिक कामको सिलसिलामा भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे राजुलाई  सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति महासचिव विप्लवले आपत्ति जनाएका छन् । 

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’