बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाले पोलिटब्यूरो गठन र कार्यविभाजन टुंगाउन सकेन, विवाद बढेपछि अध्यक्ष ओलीद्वारा बैठक स्थगित

आइतबार, जेष्ठ ५ २०७६

नेकपाले पोलिटब्यूरो गठन र कार्यविभाजन टुंगाउन सकेन, विवाद बढेपछि अध्यक्ष ओलीद्वारा बैठक स्थगित
काठमाडौं जेठ, ५–
आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अचानक स्थगित गरिएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आज बैठक बोलाइएको थियो ।   नेकपाका एक सचिवालय सदस्यले दिएको जानकारी अनुसार ११ बजे बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो । 

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो ।  उक्त बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे सामान्य छलफल  भएपनि थप छलफल आइतबार गर्नेगरी बैठक तय गरिएको थियो । 

तर, आइतबार बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ । 
आज सचिवालयको बैठक बसेर पोलिटब्यूरोमा रहने सदस्यको नामावली टुंगो लगाउने र कार्यविभागबारे छलफल गर्ने निर्णय भए पनि अब बैठक अनिश्चित बनेको ति नेताको भनाइ छ । अध्यक्ष  केपी शर्मा ओलीकै इच्छामा आजको बैठक स्थगित गरिएको नेकपा निकट स्रोतले जानकारी गरायो । 
प्रधानमन्त्री समेत रहेका ओलीले गृहकार्य नपुगेको भन्दै बैठक सथगित गरेका हुन् । 

पछिल्लो समय तत्कालीन दुवै पार्टीबाट पोलिटब्यूरो सदस्यमा पर्ने नेताहरुको नामावलीमा विवाद उत्पन्न भएको छ ।  दुवै पक्षले पोलिटव्युरोमा रहने नेताहरुको नामावलीको टुंगो लगाउन सकेका छैनन् ।
अहिले दुवै पक्षका शीर्ष नेता पोलिटब्यूरो सदस्यको नामावली टुंग्यो लगाउने गृहकार्यमा छन् । त्यस्तै कार्यविभाजनमा पनि सचिवालयकै नेताहरुबीचमा सहमति हुन नसकेको स्रोतको दावी छ । शीर्ष नेताहरुबीचमा कार्यविभाजन अन्तर्गत केन्द्रीय विभाग पनि पर्ने भएकाले  कसले कुन विभागको नेतृत्व गर्ने भन्नेमै विवाद छ ।