बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रवि र छविको मुद्दामा आजै आदेश आउने सम्भावना कति ?

बुधबार, जेष्ठ ७ २०८२

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी रहने छ ।

न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा हिजो सुरु भएको सुनवाइ हेर्दाहेर्दैमा राखिएको थियो ।

६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस मंगलबार शुरु भएकामा नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । रवि लामिछानेतर्फका कानून व्यवसायीले मंगलबार नै बहस सकेका छन् । तर, एकै मुद्दामा कारागारमा रहेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट कानून व्यवसायीले आज मात्रै बहस–पैरवी गर्नेछन् ।

बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अदालतले भ्याएसम्म आज नै आदेश सुनाउने सम्भावना छ । जसले रवि र छविलाई थुनामै पठाउने वा मुक्त गरी बाहिरबाटै मुद्दा लड्न पाउने आदेश गर्नेछ ।

न्यायाधीशद्वयले बहस नलम्ब्याउनका लागि बारम्बार वकिलहरूलाई आग्रह गरिरहेका छन् । आजै बहस सकेर आदेश जारी गर्ने उनीहरूको योजना छ । तर, यसै भन्न नसकिने अदालत स्रोतले बतायो । स्रोतका अनुसार दुवैका हकमा एउटै निर्णय नआउन सक्छ । रविको तुलनामा छविमाथिको आरोप अलि गम्भीर मानिएका कारण पनि उनीहरुलाई छुट्टाछुट्टै फरक आदेश आउन सक्ने उनीको तर्क छ ।

अहिले भइरहेको बहस रवि लामिछानेको तर्फबाट पत्नी निकिताले हालेको बन्दी प्रत्यक्षीकरण रिट तथा रवि र छवि दुवैले उच्च अदालतको आदेशउपर गरेको पुनरावेदनमाथि बहस भइरहेका हाे ।

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । सहकारीको रकम ठगी गरेको अभियोगमा उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि लामिछानेले पत्नीमार्फत सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गराएका हुन् । हाल लामिछाने र जोशी रूपन्देही कारागारमा छन् ।