बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाका ३५ सय कार्यकर्तालाई रोजगारी

शनिबार, जेष्ठ ४ २०७६

काठमाडौं जेठ, ४–
 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

२६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । सचिवालय बैठकले २३ जनसंगठनमध्ये पूर्वएमालेलाई १६ र पूर्वमाओवादीलाई ६ वटा जनसंगठनको नेतृत्व हुने गरी भागबन्डाको टुंगो लगाएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ ।

पुच्छर हटाएर जनसंगठनको नयाँ नाम, तोकियो केन्द्रीय कमिटी संख्या साबिक एमाले र माओवादीको जनसंगठन एकीकरणसँगै केन्द्रीय सचिवालयले नयाँ संगठनको नाम पनि अनुमोदन गरेको छ । जनसंगठनहरूको पूर्वनामको पुच्छर हटाएर अधिकांशको नयाँ बनाइएको छ ।

पूर्वएमाले समूहले नेतृत्व पाएको अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय छ । त्यस्तै, नेपाल भूमिहीन सुकुम्बासी संगठन ९९ सदस्यीय, अनेरास्ववियु २ सय ५१ सदस्यीय तोकिएको छ । ट्रेड युनियन महासंघ नेपाल, पेसागत महासंघ नेपाल, जनसांस्कृतिक महासंघ नेपाल २ सय ५१ सदस्यीय तोकिएको छ ।

त्यस्तै, नेपाल मुस्लिम संगठन १६१ सदस्यीय, भूतपूर्व सैनिक तथा प्रहरी संगठन २५१ सदस्यीय, नेपाल बुद्धिजीवी संगठन १६१ सदस्यीय तोकिएको छ । पहिल्यै एकीकरण सम्पन्न भएको नेपाल प्रगतिशील इन्जिनियरिङ एसोसिएसन ९९ सदस्यीय, नेपाल कानुन व्यवसायी संगठन ४५ सदस्यीय, मानवअधिकार तथा सामाजिक अभियान नेपाल ४५ सदस्यीय तोकिएको छ ।

नेपाल उद्योग व्यवसायी महासंघ १५१ सदस्यीय, नेपाल निर्माण व्यवसायी संगठन ९९ सय सदस्यीय, प्रवासी नेपाली एकता मञ्च १९९ सदस्यीय तथा पेसागत महासंघ नेपाल १११ सदस्यीय तोकिएको छ । खेलकुद महासंघ नेपालको संयोजक र सहसंयोजक तोकिए पनि केन्द्रीय कमिटीको संख्या तोकिएको छैन ।

उता, पूर्वमाओवादी समूहले पाएको युवा संघ नेपाल २५१ सदस्यीय, अनेमसंघ २५१ सदस्यीय, प्रेस संगठन नेपाल १५१ सदस्यीय, नेपाल दलित मुक्ति संगठन २५१ सदस्यीय, आदिवासी जनजाति महासंघ २५१ सदस्यीय तोकिएको छ । अपांगता संगठन नेपाल ६९ सदस्यीय तोकिएको छ ।