काठमाडौं जेठ, ३–
नेपाल पत्रकार महासंघको आयोजनामा देशभरका पत्रकारले शुक्रबार प्रदर्शन गरेका छन् । पत्रकारले मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । पत्रकारले सञ्चार साधनसहित प्रदर्शन गरेका हुन् ।
बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु सहभागी भएका थिए । पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले कालोपट्टीले मुख बाँधेका थिए ।
प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने बताएको छ । महासंघले आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको प्रष्ट पारेको छ । महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम आज सकिदैछ । महासंघका उपाध्यक्ष विपुल पोखरेलले विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउनु चिन्ताको विषय भएको बताए । पहिलो चरणको कार्यक्रम आज सकिएसँगै भोलि शनिबार केन्द्रीय कमिटिको बैठक बसी नयाँ योजना बनाइने उनको भनाइ छ ।