बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ल्हासाबाट काठमाडौं रेल ल्याउने सपना विपनामा परिणत हुन लाग्योः प्रचण्ड

सोमबार, बैशाख ३० २०७६

काठमाडौं वैशाख, ३०–
नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही बर्षत्रिै काठमाडौंमा रेृल आउने बताएका छन् । सोमबार राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  चीनको ल्हासाबाट आउने रेललाई लुम्बिनी र पोखरासम्म पुर्‍याउने बताएका हुन् । 
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,  ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भैसकेको छ ।’

ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा सुरुमा सपना जस्तो लागे पनि अब त्यो विपनामा परिणत हुने प्रचण्डको भनाइ छ  ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै अहिले त्यो सपना साकार हुन लागेको बताए ।

‘चीन भ्रमणमा जाँदा मैले त्यहाँका राष्ट्रपतिलाई भनेको थिएँ, ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरा । यो सपना साकार पार्न हामीले मिलेर काम गर्नुपर्छ भनेको थिएँ । अहिले मलाई अब यो सपना रहेन । अब त्यो सपना विपनामा साकार हुँदैछ,’ प्रचण्डले भने । ल्हासाबाट रेल नेपाल आएमा पर्यटनको विकासको निम्ति र अर्थतन्त्रको विकासको निम्ति कोशेढुंगा हुने उनले विश्वास व्यक्त गरे ।

 नेपालका शक्तिपीठहरु र नेपाल–भारतका शक्तिपीठहरुलाई पनि जोडेर सर्किट बनाउन सकिए धार्मिक पर्यटनको विकासमा क्रान्ति नै आउने उनको दावी छ । 

‘लुम्बिनी, पशुपति र जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बनाउन जरुरी छ, । अनि पूर्व पाथिभरादेखि बाजुराको बडिमालीकासम्मका सबै शक्तिपीठहरुलाई जोड्ने शक्तिपीठ सर्किट बनाउन जरुरी छ,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो पटक भारत भ्रमणमा जाँदा नेपाल र भारतका शक्तिपीठहरुलाई मिलाएर एउटा शक्तिपीठ बनाउन सम्भव छ भनेर चर्चा गरेको थिएँ । त्यसलाई सम्भव बनाइयो भने धार्मिक पर्यटनको विकासमा एउटा क्रान्ति नै आउन सक्छ र त्यो धार्मिक पर्यटनको विकासले हामी दुवै देशका जनताको आर्थिक जीवनमा समृद्धिको गुणात्मक ढंगले नयाँ प्रकृतिको जन्म हुनसक्छ भन्ने कुरा भएको थियो ।’