बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईजीपी खनालद्वारा डीआईजीमा बढुवा भएका पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान

आइतबार, बैशाख २९ २०७६

काठमाडौं वैशाख, २९–
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै  प्रहरी नायव महानिरीक्ष (डीआईजी) मा बढुवा भएका  विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह लगाइदिएकाछन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी खनालले  दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । 

गएको  वैशाख २७ गते मन्त्रिपरिषद्को  निर्णयले पोखरेल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजी पदमा  पदोन्नति भएका थिए । 

यस्तै पदोन्नति भएका प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा रामकृष्ण राजभण्डारी र डा बिजयराम श्रेष्ठलाई पनि  खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । 
   
  सो अवसरमा सम्बोधन गर्दै खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्‍वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ९आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन  दिए । 
 

नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोंच, आफूप्रति विश्‍वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे । 

 सांगठनिक दृष्टिकोण, प्राथमिकता र लक्ष्यमा कम ध्यान दिनाले सफलता प्राप्तिमा असर पर्ने चर्चा गर्दै उनले भने, ‘संगठनको हितका लागि विशेष किसिमले ल्याइएका यस्ता प्राथमिकताहरुलाई सबै युनिटका कर्मचारीहरुले चिन्तन मनन गरी व्यवहारमा लागू गर्नुपर्छ ।’   
 

   राष्ट्र र नागरिकप्रति सदैव उत्तरदायी रहने प्रहरी कर्मचारीको बोली, वचन, व्यवहार पनि नागरिकमैत्री र असल हुनुपर्ने चर्चा गर्दै उनले हरेक व्यावसायिक काम इमानदारिताकासाथ ढुक्क भएर गर्न आग्रह गरे । 

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै डीआईजी विश्वराज पोखरेलले  नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाकासाथ आईजीपीले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।