काठमाडौं । आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका छन् ।
विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलनमा छन् ।
हाल प्रतिनिधिसभाको संसदीय समितिमा छलफलको प्रक्रियामा रहेको विधेयक जारी गर्न मागसहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलन करिब एक महिना पुग्न लाग्दा शिक्षामन्त्रीले वार्तामा बोलाएका हुन्।
‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ,’ उनले भनेका छन्, ‘तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ,’ शिक्षामन्त्री पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।