हेटौंडा वैशाख, २६–
हेटौंडा प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बिहिबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस चेकजाँचका क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा उक्त सुनसहित २९ वर्षका किशोर ल्वागुनलाई पक्राउ गरेको हो । भोजपुर षडानन्द नगरपालिका ४ का २९ बर्षीय ल्वागुनको साथबाट प्रहरीले १ किलो ६ सय ४९ ग्राम ८ सय ९० मिलीग्राम सुन बरामद गरेको हो । ल्वागुनले लगाएको दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको सुन बरामद गरिएको प्रहरीको भनाइ छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक सिंहले जनाए अनुसार सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ । यसअघि पनि ल्वागुन सुन कारोबारमा संलग्न रहेकोमा पक्राउ परेका थिए । दोस्रो पटक फेरी सुन लैजादै गर्दा उनी पक्राउ परेको बताइएको छ । बरामद सुन र ल्वागुनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाउने प्रहरीले बताएको छ ।
मकवानपुरमा यसरी अवैध सुन बरामद गरिएको पहिलो पटक हो ।