काठमाडौं। चारदेशिय टी–२० सिरिज कुवेतले जितेको छ ।
आइतबार सम्पन्न खेलमा कुवेतले नेपाललाई तीन रनले पराजित गर्यो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट हुन पुग्यो ।
नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अन्य कुनै ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । बसिरले सर्वाधिक ८० रन बनाए । उनले ४३ बल खेल्दै आठ चौका र चार छक्का प्रहार गरे।
नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए। यी दुईबीच नवौं विकेटका लागि ७३ रनको विशाल साझेदारी भएको थियो।
नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नै नोबल भयो र त्यसमा बसिरले छक्का हाने । एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहियो । तर, त्यसपछिका दुई बल डट रहन गयो । तेस्रो बललाई छक्का हान्न खोज्दा उनी क्याच आउट हुन पुगे ।
यसअघि कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए ।
क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई(दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट हात पारे ।
टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो।