बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीमाथि खनिए कांग्रेस प्रवक्ता शर्मा

शुक्रबार, बैशाख २० २०७६

काठमाडौं वैशाख, २०–
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीप्रति आक्रोश पोखेका छन् ।  कांग्रेसका युवा नेता समेत रहेका शर्माले  प्रधानमन्त्री ओलीले झापामा रहेको आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई योजनाको सूची बुझाएकोमा  आक्रोश व्यक्त गरेका हुन् । 

प्रवक्ता शर्माले देशको प्रधानमन्त्रीले सबैतिर समुचित ढंगले विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीआफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुने गरी बजेट पार्न भूमिका खेलेकोमा विरोध जनाएका हुन् । प्रवक्ता शर्माले भने, ‘संसारकै अग्लो बुद्धको मूर्ति बनाउने कुरा आयो । त्यो उहाँलाई आफ्नै क्षेत्रमा चाहियो । झापाकै काँकडभिट्टामा राखेको भए के बिग्रन्थ्यो ? दमक नगरपालिकामा मात्रै ५ हजार सुकुम्बासी छन् । उनीहरुको दुई तिहाई भोट पनि उहाँले नै पाउनुभयो थियो । तर, उनीहरुलाई थोरै जमिन र छानो दिने योजना प्रधानमन्त्रीको प्राथमिकतामा परेन । सुकुम्बासीहरुले परैबाट देखिने गरी दमकमा भ्यू टावर बनाउन लाग्नु भएको छ । के त्यो टावरबाट सुकुम्बासीको करङ गन्ने  ? 

प्रवक्ता शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई सोधेका छन् तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ? 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेको पत्रमा प्रधानमन्त्रीको क्षेत्रमा आर्थिक वर्ष २०७६र०७७ मा समावेश गर्नुपर्ने योजनाका सूची पठाएपछि कांग्रेसले विरोध गरेको हो।

पत्रमा प्रधानमन्त्रीको क्षेत्र झापा ५ को सांसद सम्पर्क कार्यालयबाट योजना सिफारिस भइ आएकोले ती योजनामा प्राथमिकताका साथ बजेट पार्न भनिएको छ।

पत्रमा बजेट पार्नुपर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत बेग्लाबेग्लै योजना छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बिनोदबहादुर कुँवरले हस्ताक्षर गरेको योजनाको सूचीसहितको पत्र चैत २९ गते योजना आयोगलाई पठाइएको हो।

प्रधानमन्त्रीको क्षेत्रमा भ्यु टावर निर्माण, ढल निर्माण, सडक कालोपत्रे, खेलमैदान निर्माणजस्ता योजना प्राथमिकतामा छन्।

योजनाको नाम, ठाउँ र अनुमानित बजेटसमेत पत्रमा खुलाइएको छ भने कुनै डिपिआर भएका र कुनै नयाँ योजना समावेश छ।