काठमाडौं वैशाख, १६–
सार्वजनिक जग्गा हडप्नेमा लाजिम्पाटस्थित पाँचतारे सांग्रिला होटल पनि रहेको विवरण भेटिएको छ । रामबहादुर रावल नेतृत्वको सार्वजनिक जग्गा छानबिन सम्बन्धी उच्च आयोगले २ बर्ष लगाएर तयार पारेको प्रतिवेदनमा १८०० रोपनी सार्वजनिक जग्गा ५ हजार व्यक्ति र संस्थाले हडपेको पनि उल्लेख छ ।
प्रतिवेदनअनुसार, कित्ता नं. १४४ को १ रोपनी १४ आना १ पैसा जग्गा यतिखेर बाटोमा परिणत भएको छ । सांग्रिला होटलले कम्पाउण्ड लगाएर यहीमध्ये ७ आना जग्गा मिचेको छ ।
होटल काठमाडौंले पनि ८ आना जग्गा मिचेको प्रतिवेदनमा देखिन्छ । कित्ता नं. १ को ३ रोपनी ९ आना सार्वजनिक जग्गामा होटल काठमाडौंले ८ आना जग्गा मिचेर होटल संचालन गरेको र बाँकी जग्गामा कान्ति संस्कृति केन्द्र महाराजगंजले भवन निर्माण गरी भाडामा दिएको प्रतिवेदनमा उल्लेख छ । च्याम्पियन फुट वेयर नामक कम्पनीले पनि सार्वजनिक जग्गा मिचेको देखिन्छ । प्रतिवेदन अनुसार सो कम्पनीले ११ रोपनी १३ आना जग्गा मिचेको छ ।
यस्तै, काठमाडौंमा आफ्नो जग्गाको साँध–सिमानामा रहेको सार्वजनिक जग्गा मिचेर निजीमा विलीन गराउनेको संख्या ठूलो देखाइएको छ । रावल आयोगको प्रतिवेदन अनुसार, काठमाडौं महानगरका तत्कालीन ३५ वटै वडामा १ हजार ६८७ कित्ता संख्यामा रहेको १ हजार ३४७ रोपनी जग्गा ५ हजार ९७८ जनाले आफ्नो जग्गामा मिसाएका छन् ।
रामबहादुर रावल नेतृत्वको सार्वजनिक जग्गा छानबिन सम्बन्धी उच्च आयोगको प्रतिवेदनले यस्तो देखाएको हो ।
काठमाडौं महानगरभित्र सबैभन्दा बढी सार्वजनिक जग्गा तत्कालीन वडा नम्बर १०, ६, ३५, ७ र १६ मा मिचिएको छ । वडा नम्बर १० मा ५२ कित्तामा रहेको १८४ रोपनी जग्गा ६०६ जनाले आफ्नो जग्गामा मिसाएका छन् । वडा नम्बर ६ मा १०२ कित्तामा रहेको १७१ रोपनी जग्गा ५८० जनाले आफ्नोमा मिलाएका छन् । वडा नम्बर ३५ मा ८३ कित्तामा रहेको १५३ रोपनी जग्गा ४९६ जनाले, वडा नम्बर ७ मा ९७ कित्तामा रहेको १३० रोपनी १५ आना जग्गा ९०७ जनाले आफ्नो जग्गामा मिसाएका छन् । त्यसैगरी वडा नम्बर १६ मा ९३ कित्तामा रहेको १०१ रोपनी ८ आना सार्वजनिक जग्गा ९० जनाले आफ्नो जग्गामा पारेको खोज पत्रकारिता केन्द्रको रिपोर्टमा उल्लेख छ ।
त्यस्तै तत्कालीन वडा नम्बर ३४, ९, १४, ४ र ८ मा ५० देखि १०० रोपनीसम्म सार्वजनिक जग्गा व्यक्तिहरूले आफ्नोमा मिसाएको देखियो । वडा नम्बर ३४ मा ३८ कित्तामा रहेको ८४ रोपनी १० आना जग्गा व्यक्तिले आफ्नो जग्गामा मिलाएका छन् । वडा नम्बर ९ मा ५४ कित्तामा रहेको ७६ रोपनी १३ आना जग्गा ३५६ जनाले, वडा नम्बर १४ मा ५० कित्तामा रहेको ७४ रोपनी ८ आना जग्गा ३१२ जनाले आफ्नो जग्गामा घुसाएका छन् । त्यसैगरी वडा नम्बर ४ मा ७५ कित्तामा रहेको ६६ रोपनी ९ आना जग्गा ४०९ जनाले र वडा नम्बर ८ मा ४६ कित्तामा रहेको ६५ रोपनी ६ आना जग्गा २९० जनाले आफ्नो जग्गामा मिसाएर मिचेका छन् ।
मन्त्रालयको तथ्यांकमा क्रमशः तत्कालीन वडा नम्बर १५, ५, १२, २९, १९ र ११ मा २० देखि ५० रोपनीसम्म सार्वजनिक जग्गालाई निजीमा मिसाएको देखिन्छ । वडा नम्बर १५ मा ७५ कित्तामा रहेको ४८ रोपनी १ आना सार्वजनिक जग्गा ५३९ जनाले आफ्नोमा मिसाएका छन् ।
वडा नम्बर ५ मा ५० कित्तामा रहेको ४२ रोपनी ६ आना सार्वजनिक जग्गा १९७ जनाले, वडा नम्बर १२ मा १८१ कित्तामा रहेको ३० रोपनी १२ आना जग्गा २२५ जनाले, वडा नम्बर २९ मा ६१ कित्तामा रहेको २९ रोपनी ३ आना जग्गा २३९ जनाले आफ्नो जग्गामा मिसाएर मिचेका छन् ।
प्रतिवेदन अनुसार, वडा नम्बर १९ मा १४ कित्तामा रहेको २२ रोपनी ५ आना जग्गा ३३ जनाले र वडा नम्बर ११ मा १८ कित्तामा रहेको २१ रोपनी ८ आना जग्गा ३१३ जनाले आफ्नोमा मिसाएको देखिन्छ ।
त्यसैगरी क्रमशः वडा नम्बर १७, १३, ३, ३३, २ मा विभिन्न व्यक्तिले ५ देखि १५ रोपनीसम्म सार्वजनिक जग्गा आफ्नोमा मिसाएको देखिन्छ । वडा नम्बर १७ मा १७५ कित्तामा रहेको १४ रोपनी ९ आना जग्गा १९७ जनाले मिचेर आफ्नोमा मिसाएका छन् ।
वडा नम्बर १३ मा ३४ कित्तामा रहेको १३ रोपनी ७ आना जग्गा ९७ जनाले, वडा नम्बर ३ मा २१ कित्तामा रहेको ८ रोपनी ३ आना जग्गा ७८ जनाले आफ्नोमा मिसाएका छन् । त्यस्तै वडा नम्बर ३३ मा १२२ कित्तामा रहेको ६ रोपनी १३ आना जग्गा १६० जनाले र वडा नम्बर २ मा ६४ कित्तामा रहेको ५ रोपनी ३ आना सार्वजनिक जग्गा ६५ जनाले आफ्नो जग्गामा मिसाएको देखिन्छ ।
त्यस्तै, वडा नम्बर ३२, १, १८, २१, २४ र ३१ मा १ देखि ४ रोपनीसम्म सार्वजनिक जग्गा निजीमा मिसाएर मिचिएको छ । महानगरका अन्य ८ वटा वडामा रोपनीभन्दा कम सार्वजनिक जग्गा आफ्नोमा मिसाएको भेटियो । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।