बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आशा लघुवित्तद्वारा कञ्चनपुरको कलुवापुरमा सीपमूलक तालिम संचालन

शनिबार, बैशाख १४ २०७६

काठमाडौ वैशाख, १४–
आशा लघुवित्त वित्तीय संस्थाले २०७६,बैशाख ११, १२ र १३ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय कलुवापुर कञ्चनपुरमा आबद्ध सदस्यहरु मध्ये ४८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, स्याम्पु तथा श्रृङगार सामाग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख उमाकान्त अवस्थीले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ ,स्याम्पु तथा श्रृङगार सामाग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ४५८ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । 
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे  । 
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४३ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. १ अर्ब ६१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ४० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।