काठमाडौं वैशाख, ५–
बेरुजु फर्छ्यौटमा प्रहरी प्रधान कार्यालय उत्कृष्ट सावित भएको छ । उत्कृष्ट काम गरेको भन्दै बिहिबार गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’लेगृहमन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् ।
बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई रु आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाई छ ।
सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिए । गृहन्त्रालय र अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/०७४ सम्मको आर्थिक वर्ष २०७४/०७५ मा फर्छ्यौट गरिसक्नुपर्ने त्यो अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फर्छ्यौट भएको छ ।
यस्तै, नेपाल प्रहरीको आर्थिक वर्ष २०७३/०७४सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट भएको छ ।