बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अनि प्रचण्ड मोडिए

मंगलबार, फाल्गुन ६ २०८१

काठमाडौं । ०७९ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटकको प्रधानमन्त्री काल सबैभन्दा बढी १८ महिना सम्हाले। यसअघि पहिलो र दोस्रो कार्यकाल उनले ९ महिनाभन्दा बढी सरकारको नेतृत्व गर्न पाएका थिएनन्।

पहिलो कार्यकालमा प्रधानसेनापति रहेका रुक्माङ्गत कटवाल प्रकरणमा नौ महिनामा नै पदच्युत हुन परेको उनले दोस्रो कार्यकाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सहमतिका आधारमा ९–९ महिनाको साझेदारी गरेका थिए।

तर, पछिल्लो पटक एमाले र कांग्रेसलाई पालैपालो सरकारमा समर्थन गर्न लगाएर १८ महिना नेतृत्व गरेका थिए। तर, सत्ता गुमेपछि अहिले उनी कांग्रेस एमालेसँग खनिन थालेका छन्।

योसँगै उनले स्वतन्त्र पार्टीलगायतसँग नयाँ प्रयोगका निम्ति बाटो मोडेका पनि छन्। यसैको उदाहरणमा उनी रास्वपा सभापति रवि लामिछानेको समर्थनमा उत्रिएको पाइन्छन्।

०८४ को आवधिक निर्वाचनसम्म पुग्दा माओवादी २० बर्षमा सबैभन्दा ठूलो दलदेखि खुम्चिँदै निक्कै कमजोर अवस्थामा पुग्न सक्ने पूर्वानुमानलाई तोड्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाटो मोडेका छन्।

अहिले रास्वपा नै छायाँमा पर्नेगरी पपुलिस्ट बाटोमा छन्, प्रचण्ड। कांग्रेस र एमाले रक्षात्मक अवस्थाको पदचापमा नै रहेका बेला प्रचण्ड पपुलिस्ट बाटोमा मोडिँदा माओवादीलाई त फाइदा हुने नै छ तर जसले पपुलिस्ट राजनीतिलाई मार्ग बनाए तिनको बिस्तारचाहिँ खुम्चिने सम्भावना रहन्छ।

‘पपुलिस्ट’ राजनीति एक प्रकारको राजनीतिक रणनीति हो, जसमा नेता वा राजनीतिक दलले आफूलाई जनताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै विद्यमान सत्ता, प्रतिष्ठान वा सत्तारूढ वर्गको विरोध गर्छन्।

पपुलिजम विभिन्न राजनीतिक प्रणाली र विचारधारासँग समाहित हुन सक्छ। यसलाई वामपन्थी वा दक्षिणपन्थी दुवै खेमाका नेताहरूले अपनाउने गरेका छन्। प्रचण्ड बामपन्थी खेमाको रहेको दाबी गर्छन्। कम्युनिस्ट पार्टी भएका कारण हाललाई बामपन्थी मान्न सकिन्छ।

पपुलिजम भनेको ‘हामी बनाम उनीहरू’को अवधारणामा आधारित राजनीतिक शैली हो। यसमा जनतालाई एकजुट पार्दै सत्तासीन वा प्रभावशाली वर्गलाई दुश्मनका रूपमा चित्रित गरिन्छ।

प्रचण्डले हालैका दिनमा प्रतिपक्षीको भूमिका पाएपछि सत्ता पक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेमाथि गरिरहेको प्रहार यसको उदाहरण हो। अझ सरकारको नेतृत्व गरेको एमालेमाथि प्रचण्डको तिव्र प्रहार छ।

पपुलिस्ट नेताहरूले आफूलाई जनताको आवाजको रूपमा प्रस्तुत गर्छन् र प्रायः परम्परागत राजनीतिक दलहरू वा संरचनालाई भ्रष्ट, निष्क्रिय, वा जनविरोधी बताउँछन्।

पपुलिस्ट नेताहरूले आफूलाई जनताको वास्तविक प्रतिनिधि भनी दाबी गर्छन्। उनीहरू जनताका भावनालाई आफ्ना नीतिहरूमा समाहित गर्न खोज्छन्। उनले जनयुद्धका नाममा विहीबार मात्र गरेको भाषण यसको उदाहरण हो।

पारम्परिक राजनीतिक दल, उच्च पदस्थ नेता, आर्थिक र सांस्कृतिक रूपमा प्रभावशाली वर्गलाई उनीहरू प्रतिद्वन्द्वीका रूपमा चित्रित गर्छन्।

पपुलिस्ट नेताहरूले जनताको डर, असन्तोष, र आशालाई आधार बनाएर भावनात्मक राजनीति गर्छन्। अहिले विभिन्न भ्रष्टाचार प्रकरणबारे सदनमा प्रचण्डले गरेको भाषण त्यसैको उदाहरण र आधार हो। उनले भनेका थिए,‘शेरा दरबार वा क्यान्टोनमेन्ट काण्डमा मेरो नाम भए मैबाट छानबिन सुरु गर्नुस्। ताकत भए प्रचण्डबाट नै छानबिन थाल्नुहोस्।’
भाषणहरूमा गहिरो राष्ट्रवाद, धर्म, जातीय पहिचान, वा सामाजिक समानताको कुरा उठाउँछन्। सदनमा प्रचण्डले दलित, महिला, जनजाती र आदीबासीको प्रतिनिधित्व माओवादीले गराएको भनी दाबी गर्नु अर्को उदाहरण हो। उनी तथ्यांकसहित प्रस्तुत भएका थिए।

पपुलिजमको विचारधारा कुनै एक दिशामा सीमित हुँदैन। यो वामपन्थी वा दक्षिणपन्थी दुवै रूपमा देखा पर्न सक्छ।

समानता, धनी वर्गको विरोध, जनताको आर्थिक हितको रक्षा गर्न केन्द्रितमा रहन्छन्। दक्षिण अमेरिकी नेताहरू (ह्युगो चाभेज, एवो मोरालेस) यसका उदाहरण हुन्। प्रचण्ड यहि पदचापमा छन्।

पपुलिस्ट राजनीति मूलतः जनताका भावना र असन्तोषलाई उपयोग गर्दै राजनीति गर्ने शैली हो। यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। यसले जनताको मुद्दालाई अगाडि ल्याउन मद्दत गर्छ तर कहिलेकाहीं समाजमा ध्रुवीकरण र राजनीतिक अस्थिरता निम्त्याउन पनि सक्छ। त्यसैले, पपुलिजमको प्रभाव देशको राजनीतिक, आर्थिक, र सामाजिक सन्दर्भअनुसार फरक हुन सक्छ।

लाखौंको संख्यामा वैदेशिक रोजागरीमा जाने जनताको असन्तुष्टि, सरकारले युवालाई रोजगारी दिन नसक्नुलगायत भ्रष्टाचारको आक्रान्त अवस्थाले पपुलिस्ट राजनीति नेपालमा फैलन थालेको छ। यो फैलावटलाई प्रभावमा राखेर रास्वपा जसरी उदायो, स्वतन्त्र उम्मेदवारको उदय जसरी भयो, दुर्गा प्रसाईंहरुको अभियानमा जसरी मानिस आकर्षित भए त्यसरी नै गुमिरहेको साख जोगाउनका लागि प्रचण्ड सडकतिर पपुलिस्ट नेताका रुपमा फर्किएको प्रतीत हुन्छ।

राजनीति शास्त्रका प्राध्यापकहरूका अनुसार प्रचण्ड सत्ताबिना बस्न नसक्ने भएकाले उनी ०८४ पछि फेरि पनि सरकारको प्रमुखका रुपमा उदाउन खोजिरहेका छन्। यसकारण उनले अनेक विकल्पको बाटोलाई पछ्याउनेक्रम जारी राखेका छन्।

एक प्राध्यापक भन्छन्,‘अन्य दलसँगको चरम असन्तुष्टिलाई जनतामाझ गएर आफू पखालिने अस्त्रको रुपमा उनले प्रयोग गरेको पाइन्छ। असलमा उनको यो कामले पुरानालाई नै त्राण दिने र नयाँलाई रोक्ने देखिन्छ।’