काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित कैलाश गाउँपालिका– ४ कालिकाटार बस्ने २२ वर्षीय छेटुप थिङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००६२ नम्बरको बोलेरो गाडी तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक थिङलाई पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने २४ वर्षीय सन्दिप चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने ५० वर्षीया कमला रावतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ग्राम र तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका–१३ अठारकठ्ठे बस्ने २५ वर्षीया लुबी कामाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।