मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

देउवाका ‘चहिता’

नेतृत्वमा पुग्न अनेक समूहसँग खेल्दै महामन्त्री थापा

मंगलबार, माघ ८ २०८१

काठमाडौं । १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहको उत्तराधिकारी बन्ने ध्याउन्नमा छन् उपसभापति पूर्णबहादुर खड्का। त्यस्तै अघिल्लो महाधिवेशन कै जस्तो बार्गेनिङका लागि प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशाङ्क कोइरालाको भेट बाक्लो भइरहेको छ।

तर राजनीतिमा प्रकारान्तरको खेल हुने सम्भावनाका पात्र हुन् महामन्त्री गगन थापा। सभापति देउवाका सम्भावित उत्तराधिकारीका रुपमा उनका गतिविधि बलियो देखिन थालेको छ। र, थापाको यसअघिका राजनीतिक चालबाजीलाई अन्दाज गर्दा पनि देउवाका उत्तराधिकारीका रुपमा थापाको प्रवेश नौलो हुनेछ तर अचम्मलाग्दो मानिने छैन।

अहिले उनी देउवाका चहिता महामन्त्री हुन्।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन गराई त्यसको प्रतिवेदनको ब्रिफिङ गर्दा महामन्त्री गगन थापाबारे देउवाले सटिक टिप्पणी गरेका थिए,‘महामन्त्रीले भनेको पत्याएको थिइँन। रवि त चलाख मानिस रहेछन्। धन्यवाद गगनलाई।’

संसदीय दलको नेतामा आफूसित प्रतिस्पर्धा गरे पनि महामन्त्री थापामाथि देउवाको विश्वास निक्कै गहिरो बन्न थाल्यो। त्यसैले एमालेसँगको गठबन्धन गरी सरकारका प्राथमिकताका साझा धारणा बनाउन पनि थापालाई सरिक गराए।

१४औं महाधिवेशनमा नेता शेखर कोइरालाको समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा नेतृत्वमा पुग्ने खाका कोरिरहेका छन् र उनको यो राजनीतिक ‘अल्जेब्रा’को यात्रा हो। किनभने अंक गणितमा उनी संस्थापनभन्दा कमजोर अवस्थामा रहेका छन्।

देउवाले थापामाथि विश्वासको कसी बलियो बनाएका छन्। तथापी कोइराला समूहले भने थापा टाढा भइनसकेको दाबी गर्दै आएको छ। तर, थापाले समातेको नेतृत्वमा पुग्ने बाटोलाई हेर्ने हो भने उनी संस्थापनका उदाउँदा उत्तराधिकारी हुन् भन्ने स्पष्ट ‘स्पेश’ छन्।

यो किन पनि भन्न सकिन्छ भने कोइराला समूहमा प्रवेश गर्नुअघि उनी कृष्णप्रसाद सिटौलाको टीममा थिए। सोही टीममा रहेर केन्द्रीय सदस्य र स्वास्थ्यमन्त्री बनिसकेका थापा अब सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन्।

राजनीतिमा प्रधानमन्त्री जस्तो सपनाको कुर्सी, सभापति जस्तो नेतृत्वको टाकुरामा उभिन थापाले फास्टट्रयाक नै रोज्नेछन् र त्यो भनेकै यसबेलाका निम्ति देउवाको विश्वास जित्नु हो। देउवा किन पनि अनुकूल पात्र हुनेछन् भने दुई कार्यकालको सभापति पदपछि विधानका हिसाबले अब नेतृत्वमा रहन पाउने छैनन्। उनले अगाडि सार्ने उत्तराधिकारीको खोजी पनि भइरहेको छ।

लोकप्रियताका हिसाबले पनि देउवाका लागि थापा अनुकूल पात्र बन्नेछन् जसको टीममा पत्नी आरजु राणालाई महिला उपसभापतिको उम्मेदवार बनाउन सक्ने सम्भावनाको लेखाजोखा गरिन्छ।

थापा नेपालको समकालीन राजनीतिमा उदाएका प्रभावशाली नेताहरू मध्य एक हुन्। विशेषगरी युवा पुस्तामाझ लोकप्रिय थापालाई राजनीतिमा सुधार र समृद्धि ल्याउने नेताका रूपमा लिइन्छ। उनले आफ्नो स्पष्ट दृष्टिकोण, प्रखर वक्तृत्वकला, र दूरदृष्टियुक्त सोचले नेपाली जनताका मन जित्न सफल भएका छन्।

यता देउवाका चहिता हुनुका साथै थापाले युवा पंक्तिको पनि समूह तयार पारिरहेका छन्। यसक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र स्वास्थ्यमन्त्री प्रदीप पौडेल उनको टीममा छन्। कथंकदाचित देउवाको टीममा नपरेको खण्डमा थापाको ‘प्लान बी’ भनेको शर्मा र पौडेलसँगको समीकरण खडा गरी कांग्रेसमा नयाँ समूह घोषणा गर्नु हुनेछ।

‘नेतृत्वमा पुग्नका लागि युवा पुस्ताले योजनाबद्ध हिसाबले अभ्यास गरिरहेका छन्। र, थापा यसका मास्टरमान्ड हुन्’, कांग्रेसका उच्च तहका नेताले भने,‘यस पटक बार्गेनिङ नगरी सिधा नेतृत्वमा हस्तक्षेप गर्ने नीतिअनुसार थापाको अभ्यास हुनेमा शंका छैन।’