मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष सुवेदीसहित बहुसंख्यक पदाधिकारी एमाले निकट प्रेस चौतारीमा प्रवेश

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली एमालेनिकट प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ ।

यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशन ताका संगठन छाडिसकेका थिए । आज अब अध्यक्ष सुबेदी नै प्रेस चौतारी फर्केका हुन् ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।

सुवेदी २०८० जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरीसकेका छन्।

यसैबीच आज नै संगठनका अध्यक्ष सुवेदीलाई वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए । एमालेनिकट प्रेस चौतारीमै फर्किने तयारीमा रहेको बुझेपछि उनलाई निष्कासन गरिएको हो ।

केही समयदेखि पार्टी अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्ट सुवेदीले एक अनलाइनमा लेखेको लेखका विषयमा एकीकृत समाजवादीले विहीबारमात्र २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो ।