बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शीर्ष नेताबीच भागवण्डा नमिलेपछि कांग्रेसको बैठक बस्नै सकेन

आइतबार, चैत्र २४ २०७५

काठमाडौं चैत, २४–
शीर्ष नेताबीच कार्यसम्पादन समिति गठनमा भागवण्डा नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । कार्यसम्पादन समिति गठनलगायतका एजेन्डासहित शनिबार केन्द्रीय बैठक आह्वान गरिएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागवण्डा मिले पनि अर्का नेता कृष्णप्रसाद सिटौलासँग भागवण्डाको कुरा नमिलेपछि कार्यसम्पादन समिति गठनमा सहमति हुन नसकेको हो । २९ सदस्यीय कार्यसम्पादन समितिमा पदाधिकारीसहित वरिष्ठताको आधारमा सदस्य रहने व्यवस्था छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यसम्पादन समिति गठनमा थप छलफल र सहमति गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो । अघिल्लो दिन कार्यसम्पादन समिति गठन गर्नेबारे सभापति देउवा, वरिष्ठ नेता पौडेल र सिटौलालगायत शीर्ष नेताबीच छलफल भएको थियो । भागवण्डामा सिटौला पक्ष असन्तुष्ट रहे पनि शनिबारसम्म मिलाएर कार्यसम्पादन समिति गठन गर्ने तयारी थियो ।

सभापति देउवाले दुई वर्षअघि नै कार्यसम्पादन समिति गठन गर्नुभएको थियो । त्यस बेला कार्यसम्पादन समितिमा वरिष्ठतालाई प्राथमिकता नदिएको भन्दै चर्को विरोध भएपछि भङ्ग गरिएको थियो । त्यस बेला कार्यसम्पादन समिति गठनप्रति सबैभन्दा बढी विरोध केन्द्रीय सदस्य डा। शेखर कोइरालाले गर्नुभएको थियो । उहाँले वरिष्ठको आधारमा राखिएको कार्यसम्पादन समितिका सदस्यहरुको लिस्टमा आफ्नो नाम नअटाएपछि सभापति देउवासँग वरिष्ठता मापनको जानकारी पनि माग्नुभएको थियो ।

कार्यसम्पादन समितिले केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्ने काम गर्नेछ । केन्द्रीय कार्यसम्पादन समितिले आफ्नो कामको विवरण कार्यसमिति बैठकमा पेस गरी अनुमोदन गराउने, पार्टी केन्द्रीय कार्यालयअन्तर्गत रहेका सम्पूर्ण विभागको समीक्षा गर्ने र समयसमयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषयमा समितिका संयोजकहरुसँग विचार विमर्श पनि गर्ने कार्य गर्नेछ ।