काठमाडौं चैत, २०–
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आएको भनेर टिप्पणी गर्नेहरुको औचित्य नभएको बताएका छन् । उनले नेपालमा समाजवाद आइरहेको भन्दै त्यस्ता टिप्पणी औचित्यहिन भएको बताएका हुन् । बुधबार राजधानीमा आयोजित राष्ट्रिय विकास परिषदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अधिनायकवाद आएको छ भन्नेहरुप्रति आक्रोश पोखेका हुन् । १५ औं योजनाबारे छलफल गर्न आयोजना गरिएको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले देश तीव्र गतिका साथ अगाडि बढिरहेको भन्दै प्राप्त अवसरलाई हामीले कुनै पनि हालतमा तलमाथि गर्नु नहुनेमा जोड दिए ।
देश आगामी ५ वर्षमा कसैले सोच्न नसकिने गरी विकसित हुने प्रधानमन्त्री ओलीको भनाइ छ । बैठकमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले भोकमरीले कोही नेपाली मर्नुनपर्ने भनाइ पटक पटक दोहोर्याएका थिए । ‘अब नेपालमा भोकमरीले कोही पनि मर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘केही गरीबी र असमानता छ, त्यसलाई समाधान गर्नका लागि केही समय लाग्न सक्छ । हामीले अनिवार्य चाहिने जति समय लिएका छौं कि चाहिने भन्दा बढी अनावश्यक समय लिएका छौं त्यो विचार गर्छौं ।’
अहिलेको सरकारले देशलाई समृद्धि र प्रगतिको दिशातर्फ लैजान चाहिने भन्दा बढी समय नलिएको प्रधानमन्त्रीको भनाइ थियो ।
अहिलेको समय कानून निर्माण र समृद्धिको आधार वर्ष भएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालको बारेमा विश्वमा छलफल हुन शुरू भएको भन्दै ओलीले भने,‘ुविश्वले नेपालको मूल्यांकन गरिरहेको छ । जनताको विश्वास र छिमेकीको विश्वासलाई सरकारले सम्मान गर्नेछ । हामी कत्ति पनि समय बर्बाद गर्ने पक्षमा छैनौं ।’
आजदेखि दुई दिनसम्म चल्ने राष्ट्रिय विकास परिषदको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीहरु, तथा तीनै तहका सरकारका प्रतिनिधिहरुको सहभागीता रहेको ।