काठमाडौं चैत, १७–
संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण आइतबारको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको हो । सभापति शेरबहादुर देउवासँग थप छलफल गर्नु पर्ने भन्दै प्रतिपक्षी कांग्रेसका सांसदहरुले बैठक सार्न आग्रह गरेका थिए। कांग्रेसको आग्रहपछि सुनुवाई समितिको बैठक दुई दिन पछि सारिएको हो।
आज बोलाइएको सुनुवाई समितिको बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाई हुने कार्यक्रम थियो। यसअघि केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थितिविनै बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव थपलियालाई सिफारिस गरेको थियो।
सुनुवाई समितिमा रहेका कांग्रेसका सांसदहरु जितेन्द्र देव, पुष्पा भुसाल र भीमसेन दास प्रधानले संवैधानिक परिषदको सिफारिसबारे सभापति देउवासँग छलफल गर्नका लागि समय मागेका थिए।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता देउवाको उपस्थितिविनै संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरिएको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ। यसअघि पनि देउवाको उपस्थितिविनै संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, थारु आयोग र मधेसी आयोगका अध्यक्ष सिफारिस गरेको थियो।