बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कहाँबाट आयो सत्ता राजनीतिमा ‘बिचौलिया’

बिहिबार, पुष ११ २०८१

काठमाडौं । कांग्रेस–एमाले नयाँ गठबन्धन बनेपछि प्रतिनिधि सभाको रोष्ट्रमबाट हाल हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले भने,‘यो गठबन्धन रातारात बिचौलियाले बनायो।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङ, चितवनका सभादेखि काठमाडौंका विभिन्न कार्यक्रममा मात्र होइन विभिन्न अन्तरवार्तामा पनि बिचौलियाले सरकार ढालेको बताउने गरेका छन्।

बिचौलिया शव्द आफैंमा नकारात्मक भाव दिने नभए पनि बिगत केही बर्षदेखि यसको प्रयोगलाई सोही दृष्टिबाट बुझ्न थालिएको छ।

बरिष्ठ पत्रकार सुजित महत लेख्छन्,‘बिचौलिया शब्दले जति विस्तृत अर्थ दिन्छ, तदनुरूप प्रयोग गर्न थाल्ने हो भने हरेक पेसा/व्यवसायमा धेरै मान्छेका नाम अघिल्तिर यो शब्द प्रयोग गर्न सकिन्छ। तर मिडिया नै यसमा चयनात्मक (सेलेक्टिभ) सुनिन्छ। कान्तिपुरले दीपक भट्टको सन्दर्भ आउँदा हरेकचोटी बिचौलिया शब्द प्रयोग गर्छ। तर सत्तामा उस्तै सम्बन्ध÷चलखेल राख्ने अरू व्यवसायीको हकमा त्यस्तो भएको पाइँदैन।’

हाल नेपाली राजनीतिमा यसलाई ब्यापक बनाउनका लागि माओवादी र रास्वपाका कार्यकर्ता अझ उद्दत छन्। रवि पक्राउ र अनुसन्धानविरुद्धका आन्दोलनमा रास्वपाका झिना मसिना नेताले पनि यो शव्दको ब्यापक प्रयोग गरेका थिए।

सत्ता उनीसरहकै पहुँच/प्रभाव राख्ने र व्यवसायिक लाभमा प्रयोग गर्ने व्यवसायी अरूहरू पनि छन्। आ–आफ्नो गच्छेअनुसार पहुँच÷प्रभाव गर्ने व्यवसायी त कति हो कति छन्। भट्ट पनि हिमालय रिइन्सुरेन्स, हिल्टन होटल आदिका लगानीकर्ता हुन्। उनी नेतासँग नजिक रहेको र सत्ता राजनीतिमा पनि प्रभाव राख्न सक्ने भएकाले नकारात्मक हिसाबमा बिचौलिया शव्दको प्रयोग गरिएको हो। खासमा बीचमा रहेर चलायमान हुने भएकाले बिचौलिया भनिएको बुझिन्छ।

प्रचण्ड, वर्षमान पुनले प्रयोग गरेको बिचौलिया शब्द व्यवसायीद्वय रामेश्वर थापा र दीपक भट्ट लक्षित रहेको अनुमान मात्रै होइन ठोकुवा नै गर्न सकिन्छ।

शेरबहादुर देउवा र केपी शर्मा ओली वार्ताको ‘भेन्यु’ उनकै घर थियो। एमाले–माओवादी गठबन्धनमा दरार पर्नुमा भट्टले अघि सारेका भनिएका सन्तोषनारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन केपी शर्मा ओलीको सिफारिश मान्न प्रधानमन्त्री प्रचण्डले अटेर गर्नु एउटा कारण ठानिएको छ।

उच्च स्रोतले भन्यो,‘कुनै बेला दुर्गा प्रसाईले पनि एमाले र माओवादी मिलाएका थिए। उनलाई पनि त्यसबेला बिचौलिया भनियो। तर अहिले उनी तिनकै बिरोधमा छन्।’

राजनीतिक दलमा आवद्धता नदेखाउने तर सत्ताको प्रयोग र लाभलाई लिइरहने पक्ष वा व्यक्तिलाई अहिले बिचौलिया भनी ब्याख्या गरिन थालेको छ।