काठमाडौं चैत, १५–
छोटो अवधिको कोर्स अध्ययन गर्न नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापा यतिवेला अमेरिकामा छन् । उनले अमेरिकाको हावर्ड विश्वविद्यालयमा उक्त कोर्षको अध्ययन पनि शुरू गरेका छन् । नेपाली कांग्रेसका चर्चित युवा नेता समेत रहेका थापाले हावर्ड केनेडी स्कूलमा ‘एक्काइसौं शताब्दीका लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ विषयको कोर्स गर्न लागेका हुन् ।
सिकाइ तथा कक्षामा फर्कन पाउँदा आफूलाई अत्यन्तै युवा महसूस भइरहेको गगनले बताएका छन् ।
यसबारे अमेरिकी दूतावासले फोटोसहितको सन्देश लेखेको छ–
हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ। उहाँ भन्नुहुन्छ, ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसूस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ । हामी उहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं ।