बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आन्दोलन प्रभावकारी बनाउन राप्रपाद्वारा बुद्धिमान तामाङको अध्यक्षतामा जनसंघर्ष परिचालन समिति गठन

शुक्रबार, चैत्र १५ २०७५

काठमाडौं चैत, १५–
राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले  अघि बढाउन जनसंघर्ष परिचालन समिति गठन गरेको छ । अध्यक्ष कमल थपा सल्लाहकार रहेको समितिको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ रहेका छन् । त्यस्तै,  नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिबमा महामन्त्री भास्कर भद्रा रहेको राप्रपाले जनाएको छ । 
नवगठीत जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु छन् ।
शुक्राबार बसेको बैठकमा बोल्दै  अध्यक्ष थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिए । अध्यक्ष थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनैतिक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्ने समय आएको बताएको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

थापाले बैठकमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थीरतातर्फ लैजान नसकेको चर्चा गर्दै अध्यक्ष थापाले संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको बर्तौलाले जनाए ।

सरकारले यी मागहरु अबिलम्ब सम्बोधन गरी मुलुकलाई सही दिशा तर्फ लैजानु पर्नेमा उनको जोड छ । राप्रपाले हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ ।

जसअनुसार चैत्र १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना दिने कार्यक्रम रहेको छ ।

बैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानररप्लेकार्ड जलाउने तथा बैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन् ।