बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल रोड रेसिङ च्याम्पियनसिप सम्पन्न

आइतबार, पुष ७ २०८१

काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न सो इभेन्टको नेसनलतर्फ श्रीहरी पौडेल विजेता बने भने फर्स्ट रनर अप दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बने।

त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बने भने फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बने । ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सो च्याम्पियनसिप अन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए । सबै गरी ४६ राइडरहरु फाइनल राउन्डमा सहभागी भएका थिए।

यो भन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो।

फाइनल राउन्डका विजेताहरुले क्रमशः ७७ हजार, ५५ हजार र ४४ हजार नगदका साथै ट्रफी र मेडल प्राप्त गरे । नासा नेपालका अध्यक्ष दशरथ रिसाल र नासा नेपाल एवम् मोटर स्पोर्ट्स नेपालका पदाधिकारीहरुले विजयी खेलाडीलाई ट्रफी र मेडलका साथै नगद पुरस्कार हस्तान्तरण गरे।

मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो । त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो । त्यसैगर एटायर पार्टनर युथ कलेक्सन रहेको थियो।

सो च्याम्पियनसिपलाई भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सहयोग रहेको थियो भने धेरै लुब्रिकेन्ट कम्पनीहरुले राइडरहरुलाई स्पोन्सर गरेका थिए।

यो सँगै यस सिजनको नेपाल रोड रेसिङ च्याम्पियनसिप सम्पन्न भएको छ । आगामी दिनमा समेत यस प्रकारको च्याम्पियनसिप आयोजना गरिने मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले बताए।