बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खप्तड घुमाउने पुस्तक

सोमबार, चैत्र ११ २०७५

काठमाडौं चैत, ११–
सुदूरपश्चिमको आकर्षक पर्यटन गन्तव्य खप्तडको प्रवद्र्धनमा टेवा पुग्ने खालको पुस्तक प्रकाशन भएको छ । पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ ले ‘खप्तड काव्य–यात्रा’ नामक पुस्तक प्रकाशन गरेको हो । यसको मूल्य २२२५ रुपैयाँ छ । 
कन्सेप्ट नेपालले गएको जेठमा ‘खप्तड काव्य–यात्रा २०७५’ आयोजना गरेको थियो । त्यसमा सहभागी भएका लेखकहरूका अनुभव समेटेर पुस्तक तयार पारिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित यात्रामा कवि, लेखक र साइक्लिष्ट गरि २७ जना सहभागी थिए । 
यात्राबाट फर्केपछि उनीहरुले मिडियामा खप्तडको पर्यटकीय संभावना, सांस्कृतिक महत्व र जीवनशैलीका विषयमा धाराबाहिक रुपमा लेखेका थिए । तिनै लेखहरुलाई पुस्तकमा समाबेश गरिएको कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिएका छन् ।
पुस्तकमा सुदूरपश्चिमको पर्यटन विकासमा योगदान दिएका गोपी हमाल, अमरबहादुर शाही र कृष्णबहादुर महराको छोटकरीमा चिनारी दिइएको छ । त्यस्तै काव्य यात्राका संयोजक एवं पत्रकार अमृत भादगाउँलेले ‘खप्तड राष्ट्रिय  निकुञ्ज’ शीर्षकमा खप्तड क्षेत्रको संक्षिप्त परिचय दिएका छन् ।  
पुस्तकमा त्रिवेणीधाम, सहस्रलिङ्ग, केदारढुंगा, खप्तडताल, खप्तडबाबा आश्रम, साइक्लिङ, ट्राभल टिप्स र खप्तड काव्य सम्मानबारे पनि चर्चा गरिएको छ । यात्रामा कन्सेप्ट नेपालले तीन जना लोकसंस्कृतिकर्मीहरू कलाकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई दश–दश हजार रुपैयाँसहित सम्मान गरेको थियो । उनीहरूलाई राष्ट्रगानका लेखक व्याकुल माइलाको हातबाट सम्मान गरिएको थियो । 
पुस्तकमा व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, गनेस पौडेल, तारानाथ पहारी, दीपेन्द्रसिंह थापा, घनश्याम खड्का, चन्द्र काफ्ले, आरके अदिप्त गिरी, उदय अधिकारी, देवेन्द्र बस्न्यात, सुरेन्द्र राना, हेमन यात्री, हेमन्त विवश, अमृत भादगाउँले र टोपेन्द्र शाहले अनुभव लेखेका छन् । यसमा कवि निमेष निखिलका कविता र गीतकार सागर उदासका मुक्तक पनि छ ।   
काव्य यात्राकै अबसरमा खप्तडको साइक्लिङ पर्यटन सम्भावना पनि खोजिएको थियो । भेट्रान साइक्लिष्टहरु देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौडेल र गोपाल श्रेष्ठले त्यसको अध्ययन गरेका थिए । पुस्तकमा उनीहरूका अनुभव पनि छन् । समग्रमा, खप्तड चियाउने आँखीझ्याल बनेको छ यो पुस्तक ।