बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सीकेसँगको सरकारको सम्झौता राष्ट्रघाती, सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थः देउवा

मंगलबार, फाल्गुन २८ २०७५

पोखरा फागुन, २८–
 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीके राउतले बोलिरहेको जनमत संग्रहकोबारे प्रधानमन्त्री केपी ओलीले नै खण्डन गर्नुपर्ने माग गरेका छन् । उनले भने,  ‘सीके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ, यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ, ओलीले राष्ट्रघात गरेका छन् वास्तवमा । सीकेले बोलेको कुरामा ओलीले खण्डन गर्नुपर्‍यो ।’
 मंगलबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले   पृथकतावादी आन्दोलन गरिरहेको सीके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका हुन् ।  सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाको जिकिर छ । 
सभापति  देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’
सीके राउतले कसरी बोलिरहेका छन्, त्यतातिर हेर्न देउवाले आग्रह गरे । ओली सरकारले संघीयतालाई कमजोर बनाउने काम गरिरहेको देउवाले बताए । ‘प्रजातन्त्रको खिलापमा अधिनायकवाद ल्याउँदै छ ओली सरकार,’ देउवाले भने ।

सभापति देउवाले प्रतिपक्षी कमजोर भयो भन्नेहरुको समेत खुलेर प्रतिकार गरेका थिए ।  ‘भोट हाल्ने बेलामा एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो, कहाँ गयो भन्ने ?,’ देउवाले भने, ‘हामी एमालेजस्तो तीन महिना संसद नै चल्ने नदिने पार्टी त होइनौं नि । अब सशक्त आन्दोलन गर्छौं ।’