सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई बेलायती राजदूत फेनले दिए बधाई

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई भेटेर बधाई दिएका छन् । बेलायतमा केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ का विजेता श्रेष्ठलाई काठमाडौँस्थित दूतावासमा भेटेर फेनले बधाई दिएका हुन्।

राजदूत फेनले श्रेष्ठलाई बधाई दिँदै बेक अफ यात्राको बारेमा जिज्ञाशा राखेका थिए । उनले आफूले सधैँ नेपालको परिचय अलग होस् र बेलायती, चिनियाँलगायत अन्य मुलुकका पर्यटकहरूको खानाको गन्तव्य बनोस् भन्ने चाहना राखेको बताए । बेलायतमा रहेका नेपाली डायस्पोरा द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण हिस्सा भएको भन्दै उनले सधैँ नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्दै अपमार्केटमा लैजाने सोच बनाएको समेत बताए । नेपाली युवा स्वदेशमा नै बसेर देश निर्माण गर्ने तर्फ लागेको हेर्ने फेनको चाहना छ।

भेटमा फेनले आफू बेलायत जाँदा श्रेष्ठ काम गर्ने होटल इन्टरकन्टिनेन्टल लन्डन–दि ओटुमा उनलाई भेट्न आउने बाचा समेत गरे । सेफ श्रेष्ठले राजदूत फेनसँगको कुराकानीले आफू उत्साहित भएको प्रतिक्रिया दिए । भेटमा सहभागी मास्टर सेफ सन्तोष शाहले नारायणको उन्नति प्रगतिमा आफूहरू सधैँ साथ रहने प्रतिबद्धता जनाए।

‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता मानिन्छ । प्रतियोगितामा सेफ नारायण र तनुज शर्माको जोडिले उपाधि जितेको थियो । नारायणले चकलेट र तनुजले सुगरमा काम गरेका थिए । हरेक च्यालेन्जमा फरक फरक थिममा आफ्नो प्रस्तुति दिएका नारायण र तनुजले निर्णायकहरुलाई मन जित्दै उपाधि जित्न सफल भएका हुन्।