बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

बिहिबार, फाल्गुन १६ २०७५

काठमाडौं फागुन, १६–
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्ज लगिएको छ । 

बुधबार निधन भएका सातैजनाको  शव  बिहीबार काठमाडौ ल्याइएको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट शव पोष्टमार्टमको लागि टिचिङ लगिएको  हो 
मन्त्री  अधिकारीको शव पोष्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडीखेलमा राखिने नेकपाका नेता  कृष्णगोपाल श्रेष्ठले जनाए । 
अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याएको हो ।  शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन । 

मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमै लगेर गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिएका छन् । अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले  निर्णय गरिसकेको छ ।