काठमाडौं फागुन, ३–
नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले शर्मा ओली नेतृत्वको वर्तमान सरकारको वर्ष पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. महतले शुक्रबार रिपोर्टर्स क्लबको कार्यक्रममा एक वर्षमा सरकारको कामले जनतामा पूरै निराश छाएको बताए । उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’
उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने, ‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’
त्यस्तै, डा. महतले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उनको आरोप छ । उनले थपे, ‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’ महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाए ।
परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको उनको आरोप छ । ‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ’, उनले भने ।
उनले सरकारको एक वर्षलाई आफूहरुले समिक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समिक्षा गरेको सुनाए । हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकोले आफूहरुले खबरदारी गर्नुपरेको पनि महतले जनाए ।
फरक प्रसँगमा उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भत्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे ।
उनले भने, ‘यो बेरोजगार भत्तालाई सरकारले कार्यकर्ता भत्ताको रुपमा रुपान्तरण गर्दैछ ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।