काठमाडौं । हिंसा शब्दलाई लिएर बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका सांसदबीच जुहारी चल्यो ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले बुधबारको बैठक स्थगित नै हुन पुग्यो । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गरेका थिए ।
सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका थिए । उनले बुधबारको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराएका थिए ।
सो लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधानविपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाए । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले माओवादीको सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गरे ।
त्यसैगरी, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पारेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गरे। सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उभिरहेपछि बुधबारको बैठक स्थगित गरिएको थियो ।
बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ ।
यसअघि असम्बन्धित व्यक्तिलाई अमेरिका जाने भिसा सहजीकरणका लागि उपसभामुख रानामगरले दूतावासलाई लेखेको पत्रलाई लिएर मंगलबारदेखि संसद्मा चर्काचर्की भइरहेको थियो । सत्तारूढ दलहरूले उपसभामुखले राजीनामा दिनुपर्ने बताइरहँदा विपक्षीहरूले दलहरूले बचाउ गरिरहेका थिए । राजीनामा नदिए संवैधानिक प्रक्रियाबाटै उपसभामुखलाई हटाउने सत्तापक्षको तयारी थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् । गएको बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरूको बारेमा वास्तविकता के हो ? भनेर प्रश्न गरेको जानकारी दिँदै लामिछानेले भने, ‘विभिन्न प्रतिक्रियाहरू विभिन्न ठाउँबाट आएका हुनाले त्यसको वास्तविकता के हो ? के सोचिरहनु भएको छ ? यसको वास्तविकता जान्नु जरुरी थियो । त्यस कारणले म उहाँसँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । धेरै जनता त बाहिर छन् नि । सडकमा छन् । संसद्को अंक गणितभन्दा धेरै जनताबाहिर छन् । कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्नसक्ने मतदाताको ३० प्रतिशत मात्रै हो । ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन् यो हेक्का रहोस् ।’