बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारले गर्यो ६६२ सहसचिवको समायोजन

मंगलबार, माघ २९ २०७५

काठमाडौं माघ, २९–
सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताए।

उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए। अधिकारीका अनुसार आवेदन दिएको आधारमा सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको हो।

यसअघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ। समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिने जानकारी गराए।

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो। उनले उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताए।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।