बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

२६२ सांसदले बुझाए पिएको बैंक खाता

सोमबार, माघ २८ २०७५

काठमाडौं माघ, २८–चार पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्का ४४ सांसदका स्वकीय सचिव (पिए)को तलब दुई महिनादेखि रोकिएको छ । उनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो ।

३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ । २५ मन्त्री र फौजदारी अभियोगमा थुनामा रहेका सांसद रेशमलाल चौधरीको पारिश्रमिक भने सचिवालयले उपलब्ध गराउनुपर्दैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसद तथा पदाधिकारीका पिएले आफ्नै खातामा पारिश्रमिक पाउने व्यवस्था छ । तर, संघीय संसद् प्रारम्भ भएको १० महिनासम्म पनि पिएको तलब सांसदहरूकै खातामा जाने गरेको समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि सचिवालयले ऐनको व्यवस्था कार्यान्वयन गरेको हो । तर, हालसम्म पनि पूर्वप्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापतिदेखि विभिन्न दलका सांसदले पिए र सचिवालयको पूर्ण विवरण उपलब्ध गराएका छैनन् ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा नेता माधवकुमार नेपाल तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका पिएको पुस र माघको तलब रोकिएको छ । बैंक खाता नम्बर सचिवालयलाई उपलब्ध नभएकाले पारिश्रमिक रोकिएको संसद् सचिवालय स्रोतले बतायो ।

चिवालयका एक कर्मचारी भन्छन्, ‘बैंक खाता उपलब्ध हुनेहरूको पुसदेखि नै पारिश्रमिक स्वकीयहरूकै खातामा जम्मा गरिएको छ । खाता नबुझाउनेहरूको तलब भने रोकिएको छ ।’

शीर्ष नेताहरूको कार्यव्यस्ततासँगै स्वकीय सचिवालयका कर्मचारी पनि व्यस्त हुनुपरेकाले बैंक खाता नम्बर पु-याउन नसकिएको पिएहरूले बताएका छन् । नेकपा अध्यक्ष प्रचण्डको स्वकीय निशा न्यौपाने भएको विवरण सचिवालयमा उपलब्ध छ । तर, उनको बैंक खाता नम्बर नभएकाले सचिवालयले तलब रोकेको छ ।

‘म चितवनमै छु । मेरै कार्यव्यस्तताले काठमाडौं जान सकेको छैन । केही दिनभित्र गएर खाता नम्बर बुझाउँछु,’ न्यौपानेले भनिन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले आफ्नो नागरिकता हराएकाले बैंक खाता खोल्न नसकेको र पार्टी कामको व्यस्तताले सचिवालयमा पुग्न नसकेको बताए । ‘हामी अहिले पार्टीकै काममा व्यस्त छौँ । डा. सा’बले सचिवालयमा गएर खाता बुझाउनुस् भनिरहनुभएको थियो । मेरै व्यस्तताले नबुझाएको हो,’ उनले भने ।