बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बीपीको नाम मेटाउन खोजेको भन्दै कांग्रेसको आपत्ति

आइतबार, माघ २७ २०७५

काठमाडौं माघ, २७–
पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नाम नामेट हुने गरी वीरगञ्जमा शहीद उद्यान निर्माण कार्य अघि बढेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। 

कांग्रेसले बीपी कोइरालाको नाममा उद्यान बनाउन दस विघा जग्गा दुई किस्ता गरी १० करोडमा खरिद गरिसकेको अवस्थामा बीपीको नाम हटाएर मधेश आन्दोलनका क्रममा भएका शहीदको स्मृतिमा उद्यान बनाउन लागेकोमा आपत्ति जनाएको हो।

 २०४९ सालदेखि नै बीपी उद्यान बनाउन प्रक्रिया सुरुवात गरिएको थियो। वीपी उद्यान बनाउन यसअघि शिलान्यास गरिसके पनि प्रदेश २ का मुख्यमन्त्रीले माघ १६ मा पुनः उद्यान शिलान्यास गरेर अर्कै नाम राख्न खोजेकोमा कांग्रेसले आक्रोश पोखेको हो । 
यातायात संस्थानको नाममा रहेको जग्गा वीरगञ्ज महानगरपालिकाको नाममा छ।

जग्गाधनीको पूर्जामा स्पष्टसँग बीपी उद्यान निर्माणको प्रयोजनका लागि जग्गा प्रयोग गर्ने लेखिए पनि अहिले बीपीको नाम हटाइएकोमा प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गरेर आपत्ति जनाए।

‘लालपूर्जामा बीपी उद्यानबाहेक अन्य प्रयोजनमा जग्गा प्रयोग गर्न नपाउने लेखिएको छ ।’ प्रवक्ता शर्माले भने,‘वीपीको नाम नामेट गर्न खोजियो।’ कांग्रेसले प्रदेश २ सरकारलाई बीपीकै नाममा उक्त उद्यान निर्माण गर्नसमेत आग्रह गरेको छ। प्रदेश सरकारले निर्णय नसच्याए सडक र सदनबाट खवरदारी गर्ने प्रवक्ता शर्माले बताए।