बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३३ किलो सुन प्रकरणमा जोडिएका खड्का यूएईमा पक्राउ

मंगलबार, माघ २२ २०७५

काठमाडौं माघ, २२–
 ३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा हरि खड्का भन्ने हरिशरण खड्का छन् ।

 केही दिनअघि यूएईमा उनलाई  पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरिसकेको छ ।

प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् ।