बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देश टुक्र्याउन चाहने शक्ति सतहमै देखिएको राप्रपाको ठोकुवा

सोमबार, माघ २१ २०७५

 काठमाडौं माघ, २१–
राष्ट्रिय प्रजातन्त्र पार्टीले  नेपालको इतिहासमै पहिलो पटक देश टुक्र्याउन चाहने शक्ति सतहमा देखिएको जनाएको छ ।  राप्रपाले त्यस्तो  विखण्डनकारी शक्तिविरुद्ध दृढतापूर्वक उभिन सरकारलाई आग्रह समेत गरेको छ । 
आइतबार र सोमबार बसेको केन्द्रीय समितिको निर्णयमा राप्रपाले राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा सरकारलाई गम्भीर बन्न र त्यस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरेको हो ।

विखण्डनकारी शक्तिले तराईका विभिन्न भागमा अराजकता सिर्जना गर्ने सम्भावना देखिएको राप्रपाको भनाइ छ । 

 पछिल्लो समय हिन्दू, बौद्ध र किरात धर्माबलम्बीलाई जबर्जस्ती धर्म परिवर्तन गराइएको भन्दै यसलाई नियन्त्रण गर्न समेत राप्रपाले माग गरेको छ । ‘धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौंदेखिको नेपाली समाजमा कायम रहदै आएको साँस्कृतिक एकता र सद्भाव खल्बलिन नदिन र देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न राप्रपा सरकारसँग माग गर्दछ’ बैठकको निर्णयमा भनिएको छ ।

राप्रपाले विदेशका बैंकमा गैरकानूनी सम्पत्ति लुकाउने र विदेशी लगानीका रुपमा उक्त पैसा ल्याउने क्रम बढेको भन्दै छानबिन गरी अवैध सम्पत्ति जफत गर्न सरकारसँग माग गरेको छ । त्यस्तै वाइडबडी खरिद, ३३ केजी सुनकाण्ड, एनसेल करछली, बुढिगण्डकी परियोजनालगायतका आर्थिक अपचलन र ठूला भ्रष्टाचारको दोषीलाई कारबाही गर्न पनि राप्रपाले माग गरेको छ ।

हिन्दूराष्ट्र पुनस्र्थापनालगायतका माग राखी राप्रपाले फागुन १५ देखि ३० गतेसम्म ताप्लेजुङदेखि कञ्चनपुर हुँदै काठमाडौंसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने घोषणा गरेको छ । त्यसअघि फागुन ७ गते देशभरी प्रदर्शन र प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्लाहरुलाई ज्ञापनपत्र बुझाउने राप्रपाले जनाएको छ ।