काठमाडौं माघ, १३–नेपाली बृहत् शब्दकोषले गुठीको अर्थ लेखेको छ– ‘धार्मिक वा परोपकारी कार्य–सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव–पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
पाशुपत क्षेत्रमा दुई सय ३६ गुठी छन्। तिनको जग्गाजमिन अथाह छ। तर तिनले आफ्नो आयस्ताबाट न जात्रापर्व, पूजाआजा धानेका छन्, न सम्पत्तिको रेखदेख नै गर्न सकेका छन्। दशकौंदेखिको यो बेहालप्रति गुठी संस्थान र राज्य बेखबरजस्तै छ। गुठीको जग्गा मोहीले लिएपछि आयस्ता झन्डै आधा हुन्छ। बुझाउनु पर्ने कुत पनि एकतिहाइले बुझाउँदैनन्, जसका कारण गुठी संस्थानमातहत सञ्चालन हुने पाशुपत क्षेत्रका अधिकांश जात्रापर्व र पूजाआजा चलाउनै मुस्किल पर्छ।
यसको एउटा कारण हो, सरकारले कुतबालीलाई समयसापेक्ष बनाउन सकेको छैन। पहिले जग्गाबाट धान उत्पादन हुन्थ्यो। कुत पनि धान नै लिइन्थ्यो। ‘हाल ती जग्गा व्यापारिक प्रयोजनमा रहेका र धानको मूल्य गणना गर्दा प्रचलित जग्गाको भाडाको मूल्यमा नगरी ०६० सालदेखि धानको मूल्यका आधारमा लिने गरेको देखिन्छ,’ महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा भनिएको छ, ‘तसर्थ समायानुकूल मूल्य र जग्गा उपयोगको प्रयोजनअनुसार कुतबाली असुल हुनुपर्छ।’
तोकिएकै कुतबाली पनि उठ्दैन। त्यसैले पाशुपत क्षेत्रका मठमन्दिरबाट सञ्चालित मूर्त र अमूर्त सम्पदा नासिने अवस्थामा पुगेका छन्। राज्यले गुठीको जग्गा प्रयोग र अधिग्रहण गरेबापतमात्रै अर्बौं रुपैयाँ तिर्न बाँकी छ। संस्थानले जति ताकेता पनि राज्य कानमा तेल हालेर बसेको छ। त्यसैले दशकौंदेखि बक्यौता थपिँदै गएको एक पूर्वकर्मचारी बताउँछन्।
पाशुपत क्षेत्रका जात्रापर्व र पूजाआजाका लागि राखिएका गुठीबारे पूर्णविवरण कसैसँग छैन। पशुपतिनाथ आसपासको रेखदेख र संरक्षणको जिम्मा पाएको पशुपति गोश्वरा शाखासँग त नामावलीमात्र छ। मुलुकभरका गुठीको विस्तृत विवरण राख्ने जिम्मेवारी पाएको केन्द्रीय लगत तथा अभिलेख शाखा भद्रकालीसँग पनि जग्गाको अभिलेख छैन। गुठी संख्या पनि फरकफरक छ।
‘जग्गाबापत उठ्ने कुतबालीको पूर्ण र अद्यावधिक हिसाबकिताब राख्न नसक्दा उठ्नुपर्ने रकमसमेत उठेको छैन’, संस्थानका प्रवक्ता सरोज थपलियाले अन्नपूर्णसँग भने, ‘रकमको अभावमा पाशुपत क्षेत्रका जात्रापर्व सञ्चालन र पूजाआजामा थुप्रै समस्या छन्।’ पशुपतिस्थित गुठीका मोही कति छन् र तिनमध्ये कतिले कुत बुझाएका छैनन्, त्यसको कुनै विवरण नभएको उनी स्वीकार्छन्।
‘पर्व, पूजा, जात्रा जेनतेन चलाइरहेका छौं, रकमीहरूले पनि न्यूनतम रकममा काम गरिरहेका छन्’, गुठी संस्थान पशुपति गोश्वारा शाखाकी प्रमुख लक्षुना शर्मा काफ्ले भन्छिन्, ‘जग्गाको कुत उठाउने अधिकार हामीलाई छैन, हामीले खर्च मात्रै गर्ने हो’, उनले भने।
संस्थानको केन्द्रीय कार्यालय र अभिलेखालयका कर्मचारीसमेत पाशुपत क्षेत्रका जग्गाको छुट्टै विवरण नभएको बताउँछन्। विगतमा तोकिएको पाथीअनुसार धान वा अन्य बाली बुझ्ने गुठी संस्थानले केही वर्षयता रकम नै तिर्ने व्यवस्था मिलाएको छ। ‘तर कसले कुतबाली तिरेन भन्ने रेकर्ड संस्थानसँग हुँदैन, तिरेको मात्र हुन्छ’, अभिलेखालयका प्रमुख राजेन्द्र दाहालले भने।
रसिदका आधारमा कसले कुन कित्ताबाट कति तिरे भन्ने पत्ता लाग्छ। रसिद काटे पनि त्यसको पूर्ण विवरण कसैसँग छैन। शाखाले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३५ लाख ८७ हजार आठ सय ६१ रुपैयाँ कुतबापत बुझिएको छ भने गत वर्ष बक्यौताबापत ६७ लाख ४५ हजार नौ सय ६८ रुपैयाँ उठाइएको छ।