काठमाडौं माघ, १०–
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय बीरगंन्जका निर्देशक बाबुकाजी थापाले सो निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको मिति बुधबार सौराहामा संयुक्त रुपमा उदघाटन गरे । उक्त दिन उठेको राजस्व रकम रु. १२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भई सहज भएको बिचार व्यक्त गरे ।
बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा÷गिट्टी÷बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत रु. १० लाख राजस्व संकलन हुने गर्दछ । सो अवसरमा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल बहादुर घिमिरे तथा ऋषि रानाभाट, खरिदार बिमल बास्तोला लगायत बैंकका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो ।