बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारविरुद्ध उत्रिए कांग्रेसका भातृसंस्था

बुधबार, माघ ९ २०७५

विराटनगर माघ, ९–
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदमा सत्तापक्षसँग आमनेसामने टक्करमा उत्रिरहेकाबेला उसका भातृसंगठन सडकमा आन्दोलित छन्  । सरकारले दुई तिहाई बहुमतको आडमा विपक्षीलाई पेलेर जाने तयारी गरेपछि विपक्षी भातृ संस्थाहरु सडकमा आन्दोलनमा उत्रिएका हुन् । 
बुधबार नेपाल तरुण दलले विराटनगरमा र नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा विरोधमा उत्रिएका तरुण कार्यकर्ताहरुले सरकारले ५ महिनासम्म पनि बलात्कार पछि हत्या गरिएको निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको, डा. गोविन्द केसीको मागप्रति सरकार गैरजिम्मेवार बनेको, प्रमुख प्रतिपक्षीलाई संसदमा पेलेर जाने र आफू भ्रष्टाचारमा लिप्त भएको जस्ता विषयमा सरकारको विरोध गरेको थियो । 

यता, नेविसंघले भने काठमाडौंमा नै विरोध गरेको हो । उनीहरुले सरकार माफियाको चंगुलमा फसेको भन्दै सरकारको चर्को विरोध गरेका छन् । निर्मला पन्तको हत्यारा ५ महिनासम्म पनि पत्ता लगाउन नसकेको, चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको माग पूरा नगरेको प्रति उनीहरुले सरकारको विरोध गरेका छन्। 

मंगलबार प्रतिनिधि सभामा सत्ता पक्षले जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएको भनेर विरोध गरेको काँग्रेसको भातृ संस्था नेविसंघले बुधबार सडकमा विरोध जनाएको हो । मंगलबार नै पनि नेविसंघले नयाँ वानेश्वरमा निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको थियो । नेविसंघले मंगलबार विज्ञप्ती जारी गर्दै डा. केसीको पक्षमा र निर्मला पन्तको बलात्कारको विरोधमा वृहत्त विरोध प्रदर्शन गर्न लागेको जनाएको थियो ।