बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चन्द्र ढकालले ट्याक्स हेभनबारे मुख खोलेः ‘मसँग जोडिएका कुनै पनि कम्पनीको स्वीस बैंकमा खाता छैन’

शुक्रबार, माघ ४ २०७५

काठमाडौं माघ, ४–
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा आफ्नो नाम जोडिन आइएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष ढकालले बिहिबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नलिजम (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाई छ । प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहि कतैबाट जोडिएको छैन् ।’ 
त्यस्तै, अध्यक्ष ढकालले आफ्नो तथा आफूसँग जोडिएका कुनै पनि कम्पनीको   स्वीस बैंकमा कुनै पनि खाता नभएको प्रष्ट पारेका छन् । उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिए अनुसार  अध्यक्ष ढकाल लगायत उनीसँग सम्बन्धित कम्पनीका  कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् र त्यस्ता कुनै पनि कम्पनीमा लगानि समेत छैन । 
उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरि, हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसमागम्भिर आपत्ती समेत प्रकट गर्दछौं ।’
त्यस्तै, नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा आफूहरुले  नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु गरेको उल्लेख छ ।  नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनीएक्सप्रेस (आईएमई) ले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको उनको विज्ञप्तिमा उल्लेख छ । 
उनले अगाडि लेखेका छन्, ‘त्यस लगत्तै बेलायत लगायत अन्य देशहरुबाट पनि कारोबार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देश माहामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेवसाईटमा समेत राखेका छौं ।’ 
अध्यक्ष ढकालले यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर नलगेको प्रष्ट पारेका छन् । उनले  बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं । अवैध च्यानलमार्फत नेपालआउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवतः कसैले नजरअन्दाज गर्न मिल्दैन ।’
नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएको उनको भनाइ छ । यसरी आफूहरुले  संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण मूलुकको  अर्थतन्त्र अगाडि बढिरहेको भन्दै अध्यक्ष ढकालले कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको प्रष्ट पारे । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ । आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्सुरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवलकार, डिस होम सेवासम्मविस्तार भएको छ ।’
उनका अनुसार आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा  सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो । 
अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनी सुरुवात गरेपछि म (चन्द्रप्रसाद ढकाल) त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ । मेरो भाई हेमराज ढकालको सन्दर्भमा उनी गैर आवासिय नेपालीहुन् । उनले सन् ९० को दशकदेखि जापान,मलेसिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन् । विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्नका लागि नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाई हेमराज ढकाल गैर आवासिय नेपालीको हैसियतमा नेपालीहरु भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएका छन् ।’  अध्यक्ष ढकालका अनुसार नेपालको कानुनले गैर आवासिय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्नकुनै बन्देज लगाएको छैन् ।
कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भएपनि उनीहरुको  अहिलेको राष्ट्रियता बेलायती भएको अध्यक्ष ढकालले बताएका छन् । उनले लेखेका छन्, ‘उहाँहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ती जनाउनु पर्ने, गैरकानुनी हुनु नपर्ने हो ।’
अन्त्यमा अध्यक्ष ढकालले खोज पत्रकारितामा विख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनु नपर्ने उल्लेख गरेका छन् ।  त्यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, त्यसले गर्ने व्यवसायिकदेखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुने उनको भनाइ छ ।  यसरी सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोजपत्रकारिताका नाममा आफूहरुमाथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको उनको दावी छ ।