काठमाडौं माघ, ३–
पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसँगको सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रसरता लिएर केसीको माग सम्बोधन गर्न आग्रह समेत गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर सांसद थापाले चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेको बताए । उनले भने, ‘समिति सकियो, अब सरकारको कुरा हो । प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित हुनसक्छ, ।’ उनले थपे, ‘सम्झौता बमोजिम विधेयक बनाउन प्रधानमन्त्रीजीले अग्रसरता लिनहुन्छ भन्ने विश्वास छ।’
गत पुस २५ देखि इलाममा आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ । तर, सरकारले आजसम्म डा. केसीसँग औपचारिक सम्वाद समेत सुरु गरेको छैन ।
पत्रकार सम्मेलनमा नेता थापाले डा. केसीलाई काम्युनिस्ट विरोधी र कांग्रेसको विल्ला भिराएकोमा आपत्ति जनाए । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसन बस्दा डा. केसीले सरकारको को छ भनेर कहिल्यै नहेरेको उल्लेख गरे । सांसद थापाले प्रश्न गरे, ‘जनताको स्वास्थ्यका लागि लड्नु कम्युनिस्ट विरोधी हुनु हो र ?’
डा. केसीका १६ मध्ये ७ वटा अनसन हुँदा कांग्रेस नै सरकारमा रहेको तथ्यांक उनले प्रस्तुत गरे । राजनीतिक दल, अदालत, अख्तियार सबै मिलेर चिकित्सा क्षेत्रलाई ध्वस्त पार्न लाग्दा डा. केसी त्यसको विपक्षमा उभिएको उनले बताए ।
डा. केसी पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको सांसद थापाको भनाइ छ । उनले सरकारलाई प्रश्न गरे, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि मार्न तयार भएका हौं ?’