काठमाडौं माघ, २–
नौसिंह महरको नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्धारित समयमा महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्न सकेन । महरको नेतृत्व दुई–दुई पटक म्याद थपिदा पनि महाधिवेशनको कार्यभार पूरा गर्न नसकेर विघटन हुन पुग्यो । नेविसंघले पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि माउ पार्टी नेपाली कांग्रेसले राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रो पटक म्याद थपिदिएको थियो । आज माघ २ गतेदेखि नेपाल विद्यार्थी संघको कार्यकाल समाप्त भएको हो ।
नेविसंघबो विधानमा एक पटक तीन महिना म्याद थप्न सकिने व्यवस्था भएपनि तीन महिनामा समेत अधिवेशन नभएपछि विधानविपरित राजनीतिक निर्णय भन्दै दुई महिना म्याद थपिएको थियो । म्याद सकिनु केही दिन पहिले नेविसंघमा राजीनामा आतंक नै चल्यो । ११ औं महाधिवेशनमा महरकै प्यानलबाट निर्वाचन लडेका महामन्त्री सरोज थापासहित ७ जनाले राजीनामा दिए । लगत्तै नेविसंघका सहमहामन्त्री द्वय हरीहर घिमिरे र ललिता सुनारको नेतृत्वमा ४५ जनाले राजीनामा दिएपछि अध्यक्ष महरलाई संकटमाथि संकट थपिदै गयो । अध्यक्ष महर लगायत तीन महामन्त्रीले स्वयम महाधिवेशनमा रौनक थप्न नसकेको नेविसंघकै नेताहरुको आरोप छ । अध्यक्ष महरले नेविसंघको महाधिवेशन भाँड्ने खेल खेलेको नेविसंघ केन्द्रीय सदस्य पवन नेपालीले आरोप लगाएका छन् । उनले अध्यक्ष महरले जिल्ला जिल्ला पुगेका महाधिवेशन प्रतिनिधिलाई बोलाउदै आफू अनुकुलकालाई महाधिवेशन प्रतिनिधि तोक्न थालेपछि समस्या थप जटिल बन्दै गएको प्रष्ट पारे ।
महर पक्षले थपिएको समयसीमा भित्र १४ जिल्लामा अधिवेशन सम्पन्न भएको बताए पनि नेता नेपाली त्यो स्वीकार्ने पक्षमा छैनन् । उनले मुश्किलले ११ जिल्लामा अधिवेशन सम्पन्न भए पनि दुई जिल्लामा विवाद रहेको दाबी गरे । यतिवेला नेविसंघका नेताहरु वर्तमान कार्यसमितिको म्याद फेरि थप्ने या तदर्थ समिति बनाउने भन्नेमा विभाजित छन् ।
कतिपयले यहि कार्यसमितिलाई अरु ४ महिना म्याद थपेर महाधिवेसन गराउनुपर्ने पक्षमा छन् भने कतिपय तर्दथ समितिमार्फत महाधिवेशन गराउनुपर्ने पक्षमा लविङ गरिरहेका छन् । नेताहरुले पार्टी सभापति देउवालाई भेटेर नेविसंघको समस्या नसुनाएका पनि होईनन् ।
आफ्नै निवासमा भेट्न पुगेका नेताहरुलाई सभापति देउवाले आगामी माघ १० गते बस्ने बैठकले निर्णय लिन्छ भनेर फिर्ता पठाईदिए ।
अघिल्लो पटक २ महिनाको साटो ६ महिना म्याद थपिएको भए यस्तो समस्या आउने थिएन भनेर नेविसंघकै नेताले मात्रै होईन कांग्रेसकै कतिपय नेताहरुले बताउने गरेका छन् ।
यो समयमा महाधिवेशन हुन नसके पनि महाधिवेशनको विकल्प छैन । म्याद नथपेकोे अवस्थामा बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल आजबाट स्वतः सकिएको छ ।
संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले केही नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।
अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै तदर्थ समितिको नेतृत्वका लागि पनि विद्यार्थी नेताहरुले दौडधुप सुरु गरेका छन् ।
सभापति देउवा निकटका राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् । त्यस्तै, पौडेलपक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी देखिएका छन् । त्यसैगरी सिटौला पक्षबाट सुशील भटट्, बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्ले लगायतले अध्यक्षको दावी गरेका छन् ।
नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ ।
त्यसैगरी संगठन लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, देशमा जघन्य अपराधका घटना हुदा पनि आन्दोलन गर्न नसकेको, शैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा चुकेकोलगायतका अहिलेको नेतृत्वबाट हुन नसकेका कामहरु पनि नयाँ नेतृत्वको मुख्य जिम्मेबारी हुनेछ ।