कार्ल माक्र्सले राज्यलाई एउटा वर्गीय संगठन मानेका छन् । माक्र्सको भनाइबमोजिम राज्य एउटा वर्ग उत्पत्ति हो । जबसम्म समाजमा वर्गहरु रहिरहनेछन्, तबसम्म राज्य पनि रहिरहनेछ । राज्यको उत्पत्ति सम्बन्धमा भएका विभिन्न सिद्धान्तहरुलाई माक्र्सले मान्दैनन् । माक्र्सको भनाइबमोजिम राज्य कहिले पनि लोक–कल्याणकारी हुन सक्दैन । राज्यको स्वरुप पनि समाजको स्वरुप सँगसँगै बद्लिँदै जान्छ । राज्यको मुख्य उद्देश्य नै निम्न वर्गमा आर्थिक वर्गको अंकुश राख्नु हो । कम्युनिष्ट मेनिफेस्टोमा भनिएको छ कि राज्य पुँजीपतिहरुको लाभको लागि बनाइएको एउटा कार्यकारिणी समिति हो । यसको मुख्य काम नै मजदूर वर्गको शोषण गर्नु हो । तसर्थ राज्य कहिले पनि लोक–कल्याणकारी हुन सक्दैन । यसको स्वरुप शोषक वर्गको हितअनुरुप नै बद्लिँदै जान्छ । किसान वर्गको शोषण गर्नलाई सामन्तवादी राज्य थियो । औद्योगिक विकासले गर्दा नयाँ–नयाँ मेशीनहरुको आविष्कार भयो । सामन्तहरुको ठाउँमा पुँजीपति वर्गको जन्म भयो । किसानको ठाउँमा मजदूर वर्गको जन्म भयो।
मजदूरको सहयोग नलिई पुँजीपति वर्ग केही गर्न सक्दैनथे । फलस्वरुप राज्यको रुप बद्लिएर प्रजातन्त्रको स्थापना भयो । पुँजीपतिहरुले धनको बलामा निर्वाचनमा जितेर व्यवस्थापिकामा आफ्नो हित हुने र मजदूरहरुको शोषण हुने किसिमका कानूनहरु बनाए।
अतिरिक्त श्रमको कारणले नै पूँजीवादी अर्थव्यवस्थामा पूँजीनिर्माण हुन्छ । पूँजीपतिहरुको ध्येय अतिरिक्त मूल्य अधिकतम बनाउनु हो, जो निम्न ३ प्रकारले गर्न सकिन्छ । (क) अतिरिक्त श्रमको मात्रा बढाएर, (ख) श्रमिकलाई दिइने ज्याला कम गरेर, (ग) श्रमिकहरुको कार्यदक्षता वृद्धि गरेर।
यसमा पूँजीपतिले सबभन्दा बढी तेस्रो तरिका अवलम्बन गर्दछ । कार्यक्षमतामा बृद्धि गर्नको निमित्त पूँजीपतिले अतिरिक्त मूल्य पूँजीको रुपमा लगानी गर्दछ । कति रुपैयाँ लगानी गर्न सकिन्छ र कति पूँजी निर्माण हुन्छ, त्यसले नै नाफाको मात्रा निर्धारण गर्दछ । नाफाको उत्पत्ति एवं नाफा र ज्यालाबीचको सम्बन्धलाई देखाउनका लागि माक्र्सले कूल पूँजीलाई स्थिर पूँजी र परिवर्तनशील पूँजी गरी दुई भागमा बाँडेका छन् । माक्र्सले कच्चापदार्थ, शेयर तथा औजारहरुमा लगानी गरिएको पूँजीलाई स्थिर पूँजी भनेका छन् । यसले श्रमिकको दक्षतालाई प्रत्यक्ष रुपमा सहयोग पु¥याउँछ । परिवर्तनशील पूँजी भन्नाले श्रमिकहरुको ज्याला हो।
आर्थिक संकट उद्यमीले आफूले प्राप्त गर्ने नाफाको दर घट्न थालेपछि श्रमिकको ज्याला घटाएर, श्रमिकले काम गर्नुपर्ने समयावधि बढाएर एवं श्रमिकको ज्याला घटाएर, श्रमिकले काम गर्नुपर्ने समयवाधि बढाएर एवं श्रमिकको कार्यदक्षता बढाएर उनीहरु उपर बढी शोषण गर्दछ । तर पूँजीवादी अर्थव्यवस्थामा सबै उद्य मीले लागत कम गर्ने एवं श्रमिक विस्थापित गर्ने यन्त्र–उपकरण प्रयोग गर्दै जाने भएकाले श्रमिकको संख्या र कूल उत्पादनबीचको अनुपात घट्दै जान्छ । अतः नाफा घट्दछ।
संक्रमणको अवस्थामा माक्र्सले तानाशाहीको समर्थन गरेर जनतन्त्रलाई उपेक्षा गरेको पनि आलोचना भएको छ । साथै समाजवाद स्थापना भएका मुलुकमा पनि जनतन्त्र देखिदैन । माक्र्सले धर्मलाई विरोध गरी त्यसलाई मजदुर वर्गका लागि अफिम मानेको छन् । धर्मले शोषणलाई मान्यता नदिई शोषणविरुद्ध आवाज उठाएको छ, गरिबलाई सहायता गर्ने, सदाचार र परोपकारलाई जोड दिएको हुँदा माक्र्सको धर्मसम्बन्धिविचार असान्दर्भिक देखिन्छ । माक्र्सले स्पष्ट शब्दमा सर्वहारा वर्गको कुनै देश, सीमा क्षेत्र हुँदैन भनी विश्व भरका सर्वहारालाई एक बनाइ विश्वभरि साम्यवाद ल्याउन चाहन्छन् र यसलाई एक अन्तर्राष्ट्रिय आन्दोलन मान्दछन् । साम्यवादी समाजमा व्यक्ति आफ्नो योग्यताअनुसार उत्पादन गर्न सक्दछ । आवश्यकताअनुसार प्राप्त गर्दछ भन्ने सिद्धान्तलाई व्यवहारिक रुप दिन सकिएको छैन । आवश्यकतालाई निश्चित तवरले परिभाषित गर्न सकिएको छैन । विचारलाई प्रयोगमा ल्याउन जनमत आवश्यक पर्दछ । उत्पादनका साधनलाई नै नष्ट गरेर साम्यवाद आउँदैन । अझ वर्तमान विश्वमा त हिंसाद्वारा राज्यसत्ता परिवर्तनको ध्येय राख्नु मिथ्या सिवाय केही हुँदैन । माक्र्सले जनमत प्रवाह, वैचारिक आन्दोलन जनताको इच्छालाई आत्मसात नगरि हतासरुपमा ध्वंसमा उत्रन वकालत गर्दछन् ।
यति हुँदाहुँदै पनि माक्र्सवाद विचारधाराका कारणले अल्पविकसित क्षेत्र तथा देशको विकासको सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । जसलाई हाम्रो देशको ग्रामीण विकासको सन्दर्भमा समेत औचित्यता सावित गर्न सकिन्छ । आर्थिक विकाससम्बन्धी माक्र्सको सिद्धान्तमा उपर्युक्त कमी–कमजोरी भएता पनि उनको केही मान्यताहरु आर्थिक विकासको लागि आवश्यक छन् । प्रविधिको विकास एवं विस्तार आर्थिक विकासको लागि नभई नहुने औजार हो । पूँजी निर्माण बिना आर्थिक विकास हुन सक्दैन । न्यून उपभोग मन्दीको एउटा कारण हो । दिगो विकासको निमित्त लगानी र उपभोगमा सन्तुलन हुनुपर्दछ । कूल उत्पादनको तुलनामा अति न्यून वा अधिक ज्यालाले लगानीमा नकारात्मक असर पार्दछ।
राज्यको परम्परागत धारणालाई अमान्य ठान्दै माक्र्सले राज्यको उत्पत्ति वर्ग उत्पत्तिको कारक बताएका छन् । राज्यको उनको सिद्धान्त इतिहासको भौतिकवादी व्याख्याको सहयोगी मात्र हो । राज्यको जन्म त्यो ऐतिहासिक प्रक्रियाबाट हुन्छ जब समाजमा दुई विरोधी गुट जन्मन्छन् । जसका स्वार्थ परस्पर विरोधी हुन्छन् र उनीहरुबीच मेलमिलाप, समन्वय र सामञ्जस्यता कदापि हुनै सक्तैन । एक अर्कामा अन्तर्निर्भर भएपनि यिनीहरु मिलेर बस्ने नसक्ने भएकाले संघर्ष हुन थाल्छ । आफ्ना हितहरुका रक्षाका लागि धनीवर्ग शासनमा पुग्छन् । शासितहरु माथि आफ्ना स्वार्थहरु लाद्न थाल्दछन् । यसरी राज्यको उत्पत्ति वर्ग उत्पत्तिको परिणाम हो।