हेटौंडा पुस, २१–
अहिलेको सरकारले राष्ट्रसन्तको विराट योगदानको कदर गर्नेछ भन्ने कुरामा थोरैले मात्र विश्वास गर्लान् तर हेटौडा–१०स्थित सहिदपार्क नजिकै रहेको “हेटौडा–एकेडेमी”ले योगी नरहरिनाथको यथेष्ट सम्मान गरेको छ । राष्ट्रसन्तको विराट योगदानको सरकारले कदर गरोस् नगरोस्तर हेटौंडा एकेडेमी भित्र रहेको योगीको सान्निध्यले “सहिदपार्क” साँच्चिकै गौरवान्वित भएको छ । हेटौंडा एकेडेमीको प्रांगणको बीचमा उभिएको मूर्ति देखेर मेरो छाति गर्वले चौडा भएको थियो ।
योगी नरहरिनाथको जीवन वैदिक संस्कृतिको खोज, प्रचार प्रसार र संरक्षणका लागि समर्पित थियो । नेपालको इतिहास नेपाली आफैले लेख्नुपर्छ भन्ने दृढसंकल्पले प्रेरित भएका योगीले नेपालका हरेक गाउँहरू घुमेर इतिहास लेखेका छन् । ती मध्ये केही छापिएका छन्, केही षड्यन्त्रपूर्वक जलाइए भने अझै पनि धेरै हस्तलिखित कार्यहरू प्रकाशनको प्रतिक्षामा छन् भन्ने सुनेको छु । योगीका कृतिहरू प्रकाशितकार्यमा हेटौंडा एकेडेमीबाट उत्पादित जनशक्तिले अग्रसरता लिनेछन् भन्ने विश्वास गर्छु ।
वैदिक संस्कृतिमा विद्याको अर्थ संसारमा आफूसहित अरूको भरणपोषण गर्ने सामर्थ्य प्राप्त गर्नु र जीवनको अन्त्यपछि मोक्ष प्राप्ति हो । भौतिक विद्याले भौतिक उन्नति दिन्छ । आध्यात्मिक वा आत्मिक उन्नतिका लागि मोक्ष वा निवृतिमार्गको ज्ञान हुनुपर्छ । वैदिक ज्ञान प्रवृत्ति र निवृत्ति मूलक दूबै छ । तर, अन्तिम लक्ष्य भने निवृत्ति नै हो । हेटौंडा एकेडेमीमा नामहरूले बालबालिकामा भौतिक जगतमा आफ्नो धर्म, संस्कृतिको सम्वहन र रक्षा गर्ने प्रेरित गर्छन् भने जीवनको अन्त्यमा त्यागमय जीवन विताएर मोक्षका लागि तयार गर्छन् ।
ज्ञान आन्तरिक विषय हो भने शिक्षा बाहिरी शिक्षा वाहिरबाट प्राप्त हुन्छ । देखेर, सुँघेर, सुनेर, छोएर र स्वादलिएर शिक्षा प्राप्त हुन्छ । विश्वको जुनसुकै ठाउँबाट, व्यक्तिबाट र घटनाबाट शिक्षा लिन सकिन्छ । शिक्षा असल र खराव दुवै हुन सक्छ । खराब शिक्षाले कमसल आचरणको निर्माण हुन्छ भने असल शिक्षाले उच्च तथा अनुसरणयोग्य आचरणको निर्माण हुन्छ । एउटा शिक्षालयको नाम, ती शिक्षालयको भित्तामा कोरिएका लेखोट, पढाउने शिक्षक÷शिक्षिकाको जीवनशैली र शिक्षणशैली सबैमा आफ्नोपन भएमा बालबालिकाले स्वतः असल शिक्षाप्राप्त गर्छन् ।
नेपाल वैदिक, जैन, बौद्ध, बोन, किराती आदिको मौलिक थलो हो । नेपाल र नेपालीलाई चिनाउने यही विषयवस्तु हुन् । नेपाली विद्यालयको नाम लिभरपुल राखेर नेपालीपनको सुरक्षा हुँदैन । अन्जानमैं बालबालिकाको आस्था बेलायतको एउटा शहरसँग जोडिन्छ । एउटा विद्यार्थीले बेलायतका विषयमा जान्नुपर्छ तर त्यो भन्दा बढी उसले आफ्नो देश, गाउँ-ठाउँ र सांस्कृतिक प्रतीकहरूका विषयमा बुझेको हुनुपर्छ ।
नेपालका सरकारी विद्यलय वा गुरुकुल पाठशालाका विद्यार्थीहरूलाई देखेर नाक खुम्च्याउनेहरूले बुझ्नुपर्छ को असली नेपालीपनको सुरक्षा यिनै विद्यालयहरूले गरिरहेका छन् भने केही निजीस्तरबाट संचालित विद्यालयहरूले पनि आफ्नोपनको जगेर्नाका लागि प्रत्यक्ष काम गरिरहेका छन् । अंग्रेजी भाषा पढाउँदै गर्दा नाम, ठाउँ, इतिहास, संस्कृति र चालचलन विदेशीकै हुनुपर्छ भन्ने छैन । भाषा भाषा नै हुन्छ । त्यो भाषाले के कुरा व्यक्त गर्छ, त्यो महत्वपूर्ण हुन्छ । अंग्रेजीमा वेद पढ्न मिल्छ । वेदले आफ्नोपनको ज्ञान दिन्छ भने ओडिसी पढ्यो भने प्राचीन ग्रिकेली समाज बालबालिकाको मनमस्तिष्कमा बस्छ । एउटा देशको शिक्षा नीतिले यो तत्थ्य बुझ्नुपर्छ र त्यसैका आधारमा शैक्षिक सामाग्रीहरू तयार गरिनुपर्छ ।
हाल नेपालमा अंग्रेजी माध्यमका विद्यालयहरूको बिगबिगी छ । नेपालका विभिन्न भागसहित काठमाडौँमा संचालित धेरै तथाकथित अंग्रेजी (आधुनिक) विद्यालयहरूको नाम वेलायती, अमेरिकी, वा अन्य कुनै विदेशी गाउँ, नेता वा लेखकहरू आदिको पिछलग्गु भएर क्याम्व्रिज, अक्सफोर्ड, लिभरपुल, सेक्सपियर, वासिंगटन आदिका नाममा राखेका छन् ।
विदेशी नाम हुँदैमा शिक्षा राम्रो हुन्छ भन्ने छैन । बरू बालबालिकाको कोमल मनमा विदेशी नामहरूको छाप पर्छ । कालान्तरमा उनीहरूलाई विदेशी नाम प्यारो लाग्न लाग्छ । उनीहरूका लागि विदेशी प्रतिमानहरू, व्यक्तिहरू, संस्कृति र संस्कारहरू प्यारो लाग्न थाल्छन् । विदेशी प्रतिमानहरूले उनीहरूको आस्थालाई समेत परिवर्तन गर्न सक्छ । शिक्षाविद्हरूले यो तत्थ्य राम्ररी बुझेकै हुन्छन् ।
स्वदेशी इतिहास, संस्कृति तथा आदर्शको रक्षा गर्न जनताले चुनेको सरकारले एस्ता नेपाली इतिहास र संस्कृतिलाई चुनौती दिने नामहरू राख्न स्वीकृति दिन्छ । विद्यालयका संचालकहरूले आफ्नो विद्यालयलाई आधुनिक देखाउन र अभिभावकहरूसँग पैसा असुल्न यिनै नामहरू राख्ने गरेका छन् । नेपालको शिक्षा क्षेत्र नक्कलीहरूको बिगबिगी छ ।
आफ्नो इतिहाससँग, आफ्नो पहिचानसँग र आफ्नो माटोसँग जोडिएका नामहरू राख्दा मानौं आधुनिकताको मात लागेका नेपाल सरकारका अनुमति दाता र संचालकहरूलाई सर्पले टोक्छ । नेपाली र संस्कृतका नामहरू धेरैका लागि अन्धविश्वास लाग्छ । यो भन्दा नेपालीको लागि अर्को दूर्भाग्य केही हुनै सक्दैन । जुन देशका संचालक, विद्यालय र शिक्षकहरूले आफ्नै इतिहास र संस्कृति मेटाउन पहिचान नै फेर्न लागि परेका तिनको कल्याण त पशुपति नाथले पनि गर्न सक्छन् भन्ने मलाई लाग्दैन ।
आज देशमा विदेशी धर्म, संस्कृति त भाषा हरू बोकेर हिड्ने र आधुनिक बन्ने प्रतियोगिता चलिरहेको छ । आफ्नो मातृभाषा बोल्नेहरू, आफ्नो इतिहास तथा संस्कृति जोगाउन प्रयत्न गर्नेहरु अवहेलित हुन्छन् । राजनैतिक शक्ति (विचारधारा) नै विदेशबाट आयात गरिएको अवस्थामा शिक्षामा स्वदेशीपन खोज्ने मजस्ता व्यक्तिहरूको के नै औचित्य हुनसक्छ ?
नेपालीको दूर्भाग्य नै भन्नुपर्छः नेपालीले उद्योग गरेर धनार्जन गरेको नेपाल सरकारसहित जनतालाई पनि मन पर्दैन । विदेशीहरूकलाई नेपाली बैंक, सरकार तथा महाजन सबैले विश्वास गर्छन् तर नेपालीले उद्योग गरेर उनी सरह नै धनार्जन गर्न सक्छ भन्ने विश्वास कत्तिपनि छैन । यस्तो मानसिक प्रताडना धेरै नेपाली उद्योगपतिहरूले भोग्नु परिरहेको हुनसक्छ ।
तर, केही व्यक्तिहरू छन्, जसले नेपाली माटो, नेपाली इतिहास तथा आफ्नो मौलिकतासँग बडो माया छ । उनीहरूले उद्योग त गर्छन् तर, विदेशीको नक्कल गर्दैनन् । उनीहरूसँग नेपाली मन छ । आफ्नो धर्म÷संस्कृतिको रक्षाको लागि उनीहरूको प्रतिवद्धता स्वयसँग छ । उद्योगी सुमार्गी परिवार नेपाली धन र मन भएको परिवार हो ।
उदाहरणका लागि हेटौंडा– १०सहिद पार्कसँगै रहेको हेटौंडा एकेडेमीलाई हालका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अजेयराज सुमार्गी सहित ११ जनाले मिलेर यो विद्यालयको करिब ११ वर्षअघि स्थापना गरिएको थियो । कारण थियो – सबैको मन भारत र विदेशमा बालबालिका पढ्न पठाउँदा ठूलो पैसा खर्च हुने र आफ्ना प्रिय सन्तानलाई आफूबाट निकै टाढा राख्नुपर्ने । क्वालिटी एजुकेशन र प्राकृतिक वातावरणमा स्व्–संस्कृतिसहितको शिक्षा विद्यालयले प्रदान गरिरहेको कुरा नाम र कान दुवैले प्रमाणित गरिरहेको मैले देखे ।
कुनै पनि अभिभावकले आफ्ना बालबालिकाहरू आफूबाट अलग रहोस् भन्ने चाहन्नन् । जति धेरै आमाबुवाले बालबालिकालाई सम्झिरहेका हुन्छन् त्यो भन्दा धेरै बालबालिकाले आमाबुबालाई सम्झिरहेका हुन्छन् । धेरै समयसम्म आमाबुबा र आफ्नो समाज, संस्कृति त परिबेशबाट टाढा रहँदा बालबालिकाहरू एकलकाटे भैसकेका हुन्छन् । “हेटौडा एकेडमीको स्थापना यही भ्वाङ्ग टाल्न भएको हो ।
हुन त सुमार्गी परिवारकाबारेमा मान्छेले आ–आफ्ना धारणाहरू बनाएका छन् । अजेयराजहरू उद्योगपति भएका सर्वसाधारणले चासो राख्नु स्वाभाविक हो । तर, उनीहरूका उद्योगहरूका सवालमा सत्य हुन् वा असत्यको निर्णय गर्ने काम आम जनता वा पत्रकारको होइन अदालतको हो । मेरो सामान्य बुझाईले भन्छः सुमार्गी खाट्टी नेपाली उद्योगपति हुन्
। मारवाडीलाई मात्र ‘उद्योगी’ मान्ने नेपाली राजनैतिक, सामाजिक, मनोबैज्ञानिक तथा बैंकिङ्ग चेतनाबाट माथि उठ्न पर्छ । मैले व्यक्तिगत रुपमा यत्ति बुझेको छु कि उनले नेपाल मै रहेर बडो स्वाभिमानपूर्वक विभिन्न उद्योगहरू संचालन गरिरहेका छन् । धेरैले रोजगारी प्राप्त गरिरहेका छन् ।
उनी औलामा गन्न सकिने सफल नेपाली उद्योगपति हुन् । जसले भारतमा गएर सार्वजनिक रूपमा दान दिएका छन्
। यिनको यो कार्यले १९४५ मा राणा सरकारले वेलायतलाई ३ करोड दान दिएको सम्झाउंछ्र मैले उनको यो आँट र दानशीलताको प्रशंसा गर्छु । सबैले भारतीयहरूसँग माग्छन् । भारतीयलाई देखेपछि अघिपछि लाग्छन् तर, सुमार्गी भारतीयलाई दिन्छन् । उनी उद्योग गर्छन् तर आफ्नो धर्म संस्कृति छोडेका छैनन् । यही नै उनीहरूको विशेषता हो ।
कहिलेकाँहि लाग्छ, नेपालीले नै एउटा नेपालीले प्रगति गरेको देख्न, सुन्न र बुझ्न चाहन्नन् । यस्तै माहौल तयार गरिएको छ । सुमार्गीले प्रगति गर्दा जल्ने तर, एउटा विदेशीले प्रगति गर्दा ‘अब देशले प्रगति गर्ने भयो’ भनेर रमाउनेहरूको ठूलो भीड नेपाली राजनीतिमा, नोकरसाहीमा र सर्वसाधारणमा समेत रहेको देखिन्छ । असल कामको प्रशंसा गर्न नसक्ने हाम्रो स्वभाव कहिले परिवर्तित होला ? असल वा गलतको फरक छुट्याउने काम ईश्वरको हो अथवा न्यायालयको ? जसको काम हो उसैलाई गर्न दिनुपर्छ । हामीले न्यायाधीश हुन आवश्यक छैन ।
गतवर्ष हेटौंडा भ्रमणको समयमा सुमार्गी परिवारले संचालन गरेको ‘हेटौंडा एकेडेमी’ भ्रमण गर्ने मौका पाइयो । मैले भन्नैपर्छ, यो एकेडेमीले आधुनिक भएर पनि प्राचीन वैदिक नेपालको प्रतिनिधित्व गर्छ । यो शरीर नेपाली भएका तर, मन र मस्तिष्कमा विदेशीपनमा समर्पित गरेकाहरूका लागि ठाडो चुनौती हो । अंग्रेजी नाम नराखी विद्यालय चल्न सक्दैन भन्ने मानसिकता लिएका र मातृभाषा बोल्दा आफ्नै विद्यार्थीलाई दण्डित गर्ने संचालकहरूका लागि यो चुनौती हो । सकारात्मकरूप लिँदा, सिक्न सक्ने ठाउँ पनि हो ।
मेरो एक घन्टाको प्रवाशमा मैले बुझेकोः हेटौंडा एकेडेमी हेटौंडाको पुरानो शैक्षिक संस्था रहेछ । अंग्रेजी माध्यममा पढाई हुने यस विद्यालयका भवनहरूको नाम देखेर मेरो मन निकै आनन्दित भयो । भवनहरूका नाम ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद छन् भने कक्षाकोठाहरू विभिन्न वैदिक तथा उपनिषदका ऋषिका नाममा छन् । नाम मात्र होइन अरूण सुमार्गी र विद्यालयका प्रधानाध्यापकका अनुसार निकट भविष्यमै संस्कृत÷भाषा शिक्षण गर्ने योजना पनि रहेको छ ।
विद्यालयका हरेक विद्यार्थीसँगगीता, वेदका ऋचाहरूसहित हिन्दु वैदिक संस्कृतिको विषयमा आधारभूत ज्ञान छ । उनीहरू निर्धक्कसँग संस्कृतका श्लोकहरू उच्चारण गर्छन् भने विद्यालय भित्र मातृभाषा नेपाली बोल्न कुनै प्रतिबन्ध छैन । उनीहरूको नेपाली र अंग्रेजी दूवै भाषामा समान अधिकार रहेको देखियो ।
एक प्रकारले यो मेरो लागि आधुनिक गुरुकुलसरह नै लाग्यो । मेरो कल्पनाको आधुनिक गुरुकुल पनि नेपाली संस्कृत तथा अंग्रेजी यी त्रिभाषिक नै छ । नेपालको रैथाने इतिहास, संस्कृति तथा मौलिकता जोगाउन त्रिभाषिक (नेपाली,संस्कृत र अंग्रेजी)मा शिक्षाको व्यवस्था हुनुपर्छ भने स्थानिय मातृभाषामा पनि शिक्षाको अनिवार्य व्यवस्था हुनुपर्छ ।
मेरो यो विचार पढेर धेरैले नाक खुम्च्याउने काम गर्लान् । मप्रति शंकाप्रतिशंका पनि गर्लान् । मेरो काम सुमार्गीको सम्पतिकोबारेमा अनुमान लगाउने होइन । उनीहरूको सम्पत्तिको वारेमा उनीहरू जानुन् । मैले हेटौंडा एकेडेमीमा देखेको कुरा जस्ताको तस्तै लेख्ने हो । मैले यही गरेको छु । म भन्छु, नेपालका उद्योगपतिले सुमार्गीहरूलेझैं शिक्षामा मौलिकतालाई महत्व दिने नेपाली मौलिकताको रक्षाको लागि कसैले चिन्ता लिनुपर्ने थिएन ।
धन्य हुन् ती नेपाली उद्योगपति जसले आफ्नो धनको केही अंश नेपालको प्राचीन इतिहास र संस्कृतिको रक्षाको लागि विद्यालय शिक्षामा लगानी गरेरसुरक्षाको थालनी गरेका छन् । नेपालमा संचालित विद्यालय, भवन र कक्षाकोठाका नाम मात्र पनि रैथाने संस्कृतिका प्रतिकहरूसँग जोडिने हो भने धेरै थोक जोगिन्छ । नेपालमा रहेका अन्य धर्मका बालबालिकाले समेत आफ्नो मौलिकतासँग सु–सज्जित हुने अवसर प्राप्त गर्छन् । के हिन्दु, के बौद्ध, के मुस्लिम के इसाई सबैका लागि शिक्षाको ढोका खुला हुनुपर्छ र हेटौंडा एकेडमी सबैको लागि खुला रहेको कुरा मैले बुझें ।
सिकाईका धेरै विधिहरू हुन्छन् । विद्यार्थीहरूको सबैभन्दा बढी सिकाई देखाईबाट बढी हुन्छ । विद्यालयको नाम, विद्यालयका भवनहरूको नाम, कक्षाकोठाहरूको नाम र शिक्षणविधि यी सबै शिक्षाका मध्याम हुन् । बाल्यकालदेखि भित्तामा लेखिएको आफ्नो पहिचान, इतिहासको जरो बूढो हुँदासम्म मान्छेले बिर्सन सक्दैन । हेटौंडा एकेडेमीका भवन, कक्षाकोठाहरूको नामबाट बालकहरूको सिकाईमा पसेको स्वसंस्कृतिको सुगन्ध आजीवन रहिरहने छ । उनीहरूलाई भविष्यमा यी नाम र नामभित्र रहेको इतिहासलाई खोज्न, बुझ्न र जान्न प्रेरित गरिनै रहने छ ।
यसरी हेटौंडा एकेडेमीले मौन रहेर पनि धेरै आफ्नो मौलिक संस्कृति सिकाउने काम गरेको छ । संचालक, प्रिन्सिपलको यस्तो सोंचलाई धन्यवाद । मेरो एक घण्टा निकै उपयोगी र सिकाई–बुझाइपूर्ण रह्यो । यो सोंच हो । सोंंचलाई अरूले पनि पछ्याउने हो भने धेरैथोक परिवर्तन गर्न सकिन्छ । आफ्नो जरोकिलोको रक्षा गर्न र आफुलाई विश्वसम्म पुर्याउन यसले निकै मद्दत गर्छ । आ–आफ्नो क्षमता अनुसार काम गर्ने हो । अगाडी बढौं र सत्कार्यको जस पनि आफैले लिउँ ।
अन्त्यमा, गुरू नरहरीनाथको २५६ किलोको पाँचधातुले बनेको मूर्ति विद्यालयको आँगनमा ठडिएको छ । यो मूर्तिले राष्ट्रगुरू नरहरीनाथ योगीको देश, संस्कृतिप्रतिको प्रेम र अनुसन्धानात्मक जीवनशैलीको सन्देश त्यहाँका बालबालिकाले स्वतः प्राप्त गरिरहेको हुन्छन् । विद्यालय परिसरमा राष्ट्गुरूको प्रतिमा राखेर सम्मान गर्ने सम्भवतः नेपालको पहिलो आधुनिक शिक्षासंस्था हो । यसका लागि विद्यालयका संचालक सुमार्गी परिवार धन्यवादका पात्र छन् ।