तनहुँ पुस, २०–
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वाइडबडी काण्डमा आफै फस्ने भएपछि सरकार लुकाउनतिर लागेको आरोप लगाएका छन् । शुक्रबार तनहुँको दुलेगौडामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले संसदीय समितिको प्रतिवेदन अस्वीकार गर्दै उच्चस्तरीय छानविन समिति बनाउनु भ्रष्टचार लुकाउनकै लागि भएको ठोकुवा गरे ।
संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न खोजेर गम्भिर गल्ती गरेको नेता पौडेलको तर्क छ ।
उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले संसदीय सर्वोच्चता मिचेको मात्रै होइन । लेखा समिति अन्तरगतको उपसमितिको अपमान पनि गर्नुभएको छ ।’
राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर, ठूलाठूला काण्डमा सँगै हुनु दुर्भाग्य भएको उनको भनाइ छ । महासमितिपछि देशभर पार्टी एक भएको सन्देश गए पनि कांग्रेसमा पार्टी भित्रको लफडा कायमै रहेकोमा उनले चिन्ता समेत व्यक्त गरे ।